विजयश्री उपभोक्ताको योजना तर्जुमा एवम् विस्तारित बैठक सम्पन्न

गैंडाकोट, २७ जेठ ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र किसान बचत तथा ऋण सहकारी लिमिटेडद्धारा प्रबर्द्धित विजयश्री उपभोक्ता सहकारीले शनिबार एक कार्यक्रमका बीच वार्षिक योजना तर्जुमा एवम् विस्तारित बैठक सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाद्धारा गठित केन्द्रीय तथा मार्ट व्यवस्थापन समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुलीले नवलपुरको मान र शान बोकेको उपभोक्ता सहकारीको रुपमा विजयश्रीलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिए । उनले संस्थाका गतिविधिमा प्रविधिको उच्चतम प्रयोग गर्दै प्रचारप्रसारमा जोड दिन आग्रह गरे । प्रबर्द्धक संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले कृषक सदस्यले उत्पादन गरेको सामग्रीलाई बजारीकरणमा उपभोक्ता सहकारीले सहयोग पुर्‍याउन सक्ने भन्दै विकूका सदस्यले तयार पारेका वस्तुहरुलाई संस्थामा बिक्रीको प्रबन्ध मिलाउन जोड दिनुपर्ने धारणा व्यक्त गरे । अर्को प्रबर्द्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले `जहाँ किसान त्यहाँ विजयश्री, जहाँ विकू त्यहाँ किसान मार्ट´को अवधारणाको शुरुवात गर्नुपर्नेमा जोड दिए । उनले विकू र किसान बचतले मातृ संस्थाको रुपमा स्वामित्व लिँदै वार्षिक नीति तथा कार्यक्रममा विजयश्रीको संस्थागत विकासमा प्रत्यक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए । संस्थागत विकासको भावी कार्यदिशा बारेमा प्रकाश पार्दै विकू साकोसका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले संस्थाले चूल्होदेखि चौतारोसम्मको सेवा प्रदान गर्नुपर्ने, प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने, कस्टमर केयरमा ध्यान पुर्‍याउनु पर्नेमा जोड दिँदै थ्री एम (मिल्क, मिट र माउथ) मुखी सेवा प्रदानमा जोड दिन आग्रह गरे । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको संक्षिप्त प्रस्तुति र भावी कार्यदिशाको सवालमा अध्यक्ष केशवप्रसाद सापकोटाले प्रस्तुतिकरण गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सहकारी अभियन्ता एवम सञ्चालक गोपालप्रसाद गौतमले राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव गोविन्द रिमालले गरेका थिए । कार्यक्रममा नवगठित सबै मार्ट व्यवस्थापन र केन्द्रीय उपसमिति पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नवगठित केन्द्रीय मार्ट व्यवस्थापन समिति संयोजकमा सूर्जेकुमार कायस्थ रहेका छन् । शिलान्यास मार्ट व्यवस्थापन समिति संयोजकमा विष्णुमाया पन्थी, विजयचोक मार्ट व्यवस्थापन समिति संयोजकमा इन्दिरा पाण्डे, विकू चोक मार्ट व्यवस्थापन समितिमा अञ्जु ज्ञवाली, हर्कपुर मार्ट व्यवस्थापन समिति संयोजकमा माधवप्रसाद कोइराला र अमरापुरी मार्ट व्यवस्थापन समिति संयोजकमा बद्रीप्रसाद सापकोटा रहेका छन् । केन्द्रीय खरिद तथा बिक्री समिति सदस्यहरुमा राजेन्द्र गौतम र शंकर आचार्य रहेका छन् भने शिक्षा तथा सञ्चार उपसमितिमा हीरालाल अर्याल र सूर्यप्रसाद चालिसे छन् । कार्यक्रम विजय विकास केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।

गैंडाकोट नगरपालिकाका विभिन्न ६ स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थामा ९०८ जना शेयर सदस्यको ७ करोड ७८ लाख १० हजार २ सय शेयर पूँजी परिचालनमा रहेको छ । संस्थामा आंशिक र पूर्णकालीन गरी २५ जना कर्मचारी कार्यरत रहेको संस्थाका अध्यक्ष सापकोटाले बताए । संस्थाले छिट्टै दलदले र कावासोतीमा मार्ट सञ्चालनको लागि अध्ययन गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट