भरतपुर, १८ जेठ
बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै चितवनका विभिन्न पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चितवनका ४ वटा नगरपालिकाले सूचना जारी गरी केही दिनका लागि विद्यालय बन्द गरिएको जनाएका छन् ।
अत्यधिक गर्मी हुन थालेपछि चितवनका रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले बिहीबार सूचना जारी गरेर विद्यालयको पठनपाठन रोकिएको जनाएका हुन् । कालिका नगरपालिकाले भने गर्मीका कारण बालबालिकामा असर पर्न सक्ने भन्दै केही मापदण्ड सुझाएको छ । तर, उक्त नगरपालिकाले भने विद्यालय बन्द गराएको छैन । गर्मीको अत्यधिक प्रभाव पर्ने भरतपुर महानगरपालिकाले पनि विद्यालय बन्दबारे केही भनेको छैन ।
विद्यालय बन्द गराएका पालिकाहरूले अहिलेको बिदालाई वर्षे बिदामा कटौती गर्ने जनाएका छन् । शुक्रबार भने स्थानीय बिदा गरिने ती नगरपालिकाहरूले जनाएका छन् । राप्तीले बढ्दो गर्मीका कारण विद्यार्थीहरू प्रभावित हुन थालेपछि पाँच दिनका लागि विद्यालयमा बिदा दिइएको जनाएको छ ।
केही दिनयता गर्मी निकै बढेको र विद्यार्थीलाई आउन जान र पठनपाठनमा प्रतिकूल असर पर्न थालेपछि सामुदायिक र संस्थागत विद्यालयहरूमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको राप्ती नगरपालिकाकी शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् ।
१९ गते स्थानीय तथा २१ गतेदेखि २४ गतेसम्म साउन महिनामा दिइने वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन बिदा दिइएको शिक्षा अधिकृत देउजाले बताइन् । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बढ्दो गर्मीका कारण विद्यालय बिदा दिइएको भन्दै यो समयमा स्वास्थ्यको ख्याल गर्दै घरमै आफ्ना बाबुनानीको अध्ययनमा सहयोग गर्न आग्रह गरेका छन् ।
त्यस्तै खैरहनी नगरपालिकाले ६ दिनका लागि विद्यालय बन्द गरेको छ । शुक्रबार स्थानीय बिदा कटौती हुने गरी एक दिन र वर्षे बिदाबाट कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २५ गतेसम्म पाँच दिन विद्यालय बिदा गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ । नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकोले बिदा दिनु परेको जनाएको छ ।
त्यस्तै रत्ननगरले ५ दिन र माडीले २ दिनका लागि विद्यालय बन्द गरेको छ । यी दुबै नगरपालिकाले पनि शुक्रबारको बिदालाई स्थानीय बिदामा कटाउने भनेका छन् । रत्ननगरले २१ देखि २४ र माडीले २१ गते मात्रै वर्षे बिदामा कटौती गर्ने भनेको छ ।
तर, कालिका नगरपालिकाले भने गर्मीबाट बालबालिकालाई जोगाउन केही मापदण्ड तोकेको छ । सूचनामा बिहानको प्रार्थना स्थगित गर्न, खाजा कक्षाकोठाभित्रै खुवाउन, विद्युतीय पंखा निरन्तर चलाउन, विद्यार्थीलाई चौरमा खेल्न नदिन भनिएको छ ।





