काठमाडौं, १८ जेठ ।
महिला टी–२० सिरिजमा नेपालले मलेसियामाथि लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यससँगै ५ खेलको टी–२० सिरिज २–१ मा पुगेको छ ।
पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दा ५ विकेटको क्षतिमा ११० रन बनायो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले २७, ज्योति पान्डेले २३ र सीता राना मगरले २१ रन बनाए। मलेसियाको लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले १–१ विकेट लिए ।
१११ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा मात्र ८३ रन बनायो । मलेसियाको लागि महिराह इज्जाती इस्माइलले अविजित ४४ र विनिफ्रेड दुराईसिंघमले २० रन जोडे ।
नेपालको लागि भने सीता राना मगर, इन्दु बर्मा र कविता कुँवरले १–१ विकेट लिए । चौथो खेलमा नेपाल र मलेसिया शनिबार आमने-सामने हुनेछन् ।





