काठमाडौं, ३ चैत ।
दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा निधन भएको छ । सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा उनको निधन भएको हो । स्थानीय गायक दुर्गा खरेलले बिहीबार दिउँसो १२ बजे निर्देशक सुब्बाको निधन भएको बताए ।
गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशन यात्रा सुरू गरेका सुब्बाले मसाल, बाँच्न चाहनेहरू, कही अँध्यारो कहीँ उज्यालो, दिदी, चटयाङ र भीष्म प्रतिज्ञालगायत चलचित्र निर्देशन गरेका छन् ।
चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए । उनले नेपालमा केही समय टेलिशृङ्खला र विज्ञापनमा काम समेत काम गरेका थिए ।
निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेकानिर्देशक सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर काम गर्न थालेका थिए । उनको अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’ को निर्माण थियो । केही समयअघि नै सिक्किममा सुटिङ भएको यो टेलिशृङ्खला महामारीको समयमा यूट्युबमा सार्वजनिक भएको छ ।
दार्जिलिङबाट ‘परालको आगो’ बनाएका प्रताप सुब्बा मौलिक नेपाली फिल्मका प्रणेता मानिन्छन् । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक फिल्म थियो र साहित्यलाई सबैभन्दा प्रभावकारी रुपमा अंगीकार गरिएको फिल्म । दार्जिलिङमै रहेर ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘मसाल’ जस्ता चलचित्र बनाएका सुब्बा लेखक÷निर्देशक नीर शाहका अनुसार बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन ‘स्कुल अफ थट’का निर्देशक हुन् । ४० को दशकमा नेपाल आएका उनी थुप्रै टेलिफिल्म र केही फिल्म बनाएर ५० को दशकमा फेरि दार्जिलिङ नै फर्किए । पछिल्लो समय उनले फिल्म बनाएका छैनन् तर बनाउनेको बीचमा भने सधैँ चर्चामा रहने गरेका थिए ।




