नेत्रज्योति संघ चितवनको अध्यक्षमा जयराम श्रेष्ठ

भरतपुर, २७ फागुन ।
भरतपुर आँखा अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संघको आज शनिबार सम्पन्न २३ औं साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको सदस्यमा तेजेन्द्रबहादुर खड्का, केशवप्रसाद अधिकारी, सिद्धार्थलाल चुके, नारायणप्रसाद अधिकारी, शान्तकुमार पिया, चिरञ्जीवी सुवेदी, पवनकुमार पिया, दिनेश खनाल, रामप्रसाद भट्ट, गुरुप्रसाद पौडेल छन् । समितिको महिला सदस्यमा सुधा जोशी र कस्तुरी श्रेष्ठ चयन भएका छन् । प्रेमप्रभा क्षेत्री, दीपक राना, रामप्रसाद कँडेल र केएन सिलवाल समितिको सदस्यमा मनोनित भएका छन् ।

अधिवेशन सम्पन्न भए पनि आगामी वैशाख १ गतेबाट नयाँ समितिको कार्यकाल प्रारम्भ हुनेछ । समितिको पहिलो बैठकले उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष चयन गर्ने संघका जिल्ला अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए ।
अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले भरतपुर आँखा अस्पतालाई विश्वस्तरको आँखा अस्पताल बनाउने योजना रहेको बताए । उनले त्यसका लागि विभिन्न विदेशी मुलुकसँग कुराकानी भईरहेको उनको भनाइ छ ।
नेपालको आँखा उपचार सेवा गुणस्तरीय र विश्वसनीय भएको चर्चा गर्दै चन्दले भने, “आँखा उपचारका लागि नेपाली विदेश जाँदैनन्, विदेशी आँखा उपचार गर्न नेपाल आउँछन् ।” नेपालमा गरिबहरुले पैसा नभएर आँखाको उपचारबाट बञ्चित हुन नपर्ने भन्दै उनले

जनसहभागितामा अस्पताल सञ्चालन गरेकै कारण सफलता मिलेको बताए । नेपाल सरकारले अभिभावकत्व दिएकै कारण नेत्रज्योति संघले देशका विभिन्न ठाउँमा आँखा अस्पताल र उपचार केन्द्रहरु सञ्चालन गर्न सकेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले आँखा उपचार जस्तो संवेदनशील क्षेत्रमा सबैको हातेमालो आवश्यक रहेको बताए । उनले भरतपुर आँखा अस्पतालले ग्रामीण क्षेत्रसम्म पुगेर उपचार सेवा दिएकोमा प्रशंसा गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, संघका पूर्वसभापति वामदेव खनाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, लायन्स इन्टरनेशनल ३२५ आरका गभर्नर सिद्धार्थलाल चुके, भरतपुर १० का वडा अध्यक्ष पर्मेश्वर खनाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले शुभकामना दिएका थिए ।

माडी आँखा उपचार केन्द्रका संयोजक श्रीप्रसाद दवाडी, केशवकुमार श्रेष्ठ, संघका निवर्तमान सभापति चिजकुमार मास्के लगायतले बोलेको कार्यक्रममा संघका कोषाध्यक्ष तेजेन्द्र खड्काले आर्थिक प्रतिवेदन र सहसचिव केशव अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा विभिन्न महानुभावहरुलाई सम्मान गरिएको छ । आँखा अस्पतालको भवन निर्माण सहयोग गर्ने, प्रेमकुमार श्रेष्ठ, सरस्वती श्रेष्ठ, निर्मला श्रेष्ठ, ध्रुवलाल प्रधान, दिनुप बराललाई सम्मान गरिएको थियो । पूर्वसभापतिहरु प्रेमकुमार श्रेष्ठ, प्रभातकुमार जोशी, वामदेव खनाल, चिजकुमार मास्केलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । अस्पतालमा अध्ययन संस्थान खोल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रा.डा. रघुनन्दन बेञ्जु, शैक्षिक विभाग प्रमुख प्रा.डा. सोनु दुलाल, १८ वर्षदेखि सेवारत डा. मारिया गौतम, २५ वर्षदेखि अस्पतालमा सेवारत रमेश घिमिरे, सपना प्रधान र छाया श्रेष्ठलाई पनि सो अवसरमा सम्मान गरियो ।

संघका अध्यक्ष कृष्णराज धरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव केशव अधिकारीले र स्वागत उपाध्यक्ष जयराम श्रेष्ठले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट