गैंडाकोट व्यापार मेलामा अपार दर्शक

गैंडाकोट, २७ फागुन ।
गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ शनिबार एकै दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीका अनुसार शनिबार सातौँ दिन मेलाको अवलोकन गर्न १५ हजारभन्दा बढी दर्शक पुगेका हुन् ।

मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक शिव हमाल, जमुना राना, लाली सिंजाली, बाल कलाकार सुप्रिम मल्ललगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार कलाकारहरुले एकल प्रस्तुतिका साथै दोहोरी गीतसमेत गाएका थिए । शनिबारको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति राखेका थिए ।

मेलाको सांस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, चर्चित ¥यापर मिस्टर डीसहितका कलाकारहरुको प्रस्तुति रहने छ । शनिबारको सांस्कृतिक कार्यक्रमको अध्यक्षता गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिकोरुपमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष श्रवणकुमार जोशी रहेका थिए ।

महोत्सवको सातौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको महोत्सवको आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताए । कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवका कारण गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाकोरुपमा घोषणा गरेको नवलपुरको लोकाहा खोला औद्योगिक क्षेत्र, तनहुँको शुक्लागण्डकी तथा पोखरामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ ।

महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पुर्‍याउने बताए । महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टर रहेका भट्टचनले बताए ।

‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय : समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला प्रवेशका लागि सर्वसाधारलाई ८० रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको भट्टचनले बताए । ११ दिनसम्म सञ्चालन हुने मेलामा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट