गैंडाकोट, १७ फागुन ।
गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्दै आएका १९ वर्षीय दिपेश सुनार सम्पर्कविहीन भएका छन् । छोरा सम्पर्कविहीन भएपछि आमा आशा सुनारको जिन्दगीमा सान्नाटा छाएको छ ।
दिपेश गत फागुन १३ गते नजिकैको साथी अरुणको घरबाट राति २ बजे पार्सल लिन जान्छु भनि निस्केका थिए । उनी सम्पर्कविहीन भएको एकसाता पुग्दासमेत कुनै अत्तोपत्तो छैन । सामान्य चटपट व्यापार गर्दै आएकी दिपेशकी आमा एकल महिला हुन् । उनी अचेल व्यापार छाडेर हरेक दिन छोराको खोजीमा गाउँगाउँ चाहार्छिन् । छोरा हराएकै दिनदेखि उनी छोराको खोजीको लागि प्रहरी, विभिन्न संघसंस्था र मिडियामा धाइरहेकी छन् ।
घरको एकमात्र छोरा हराएको सातादिन हुँदासमेत नभेटिएपछि उनी छोरा खोज्दै हारगुहार गरिरहेकी छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटमा छोराको खोजीका लागि आशाले आवेदन पनि दिएकी छन् । गैंडाकोट प्रहरीले हराएका दिपेशको हुलियासहित खोजीकार्य चलिरहेको जानकारी दिएको छ ।
गैंडाकोट वडा नम्बर ५ मा अस्थायी रुपमा भाडाको घरमा बसोबास गर्दै आएका सुनार परिवारको घर तनहुँ हो । दिपेशलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन र आमा आशाको फोन नम्बर ९८२७२५९१७०/९८११५५५३८५ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।





