भरतपुर, १७ फागुन ।
नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । नारायणी नदी किनारमा रहेको झण्डै १५ बिघा क्षेत्रफलमा पर्यटकीय गतिविधिहरु गर्न मिल्ने गरी संरचनाहरु निर्माण हुन लागेका छन् ।
बुधबार नदी किनारमा शहरी विकास मन्त्रालय अन्तर्गत आरतीस्थल र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत नारायणी नदी किनार संरक्षणको संयुक्त रुपमा शिलन्यास गरिएको छ । भरतपुर महानगरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । मेयर दाहालले नारायणी नदी किनारलाई विश्वकै पर्यटक घुमफिरमा आउने गन्तव्यका रुपमा विकास गरिने बताइन् ।
‘अब नारायणी किनार पर्यटकको आकर्षणको केन्द्र बन्नेछ”, उनले भनिन्, ‘नदी कटान रोकिने छ, घुमफिरको गन्तव्य हुनेछ, महानगरको राजश्व पनि वृद्धि हुनेछ ।” मेयर दाहालका अनुसार नदी किनारमा ठुला संरचनाहरु नबनेपनि पर्यटक लोभ्याउने संरचनाहरु बन्ने छन् । उनले नदी किनारलाई धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका रुपमा विकास गरिने लक्ष्य रहेको बताइन् । दाहालले महानगरको गुरुयोजना अनुसार नै नदी किनारको सौन्दर्यकरणको काम सुरु भएको बताइन् ।
मेयर दाहालले नारायणीको पुलदेखि नारायणी लिफ्टसम्मको साढे २ किमि क्षेत्रमा पर्यटन पूर्वाधारहरु बन्ने बताइन् । ‘नदी किनारमा महानगरको अगुवाईमा लगानी भएको छ”, उनले भनिन्, ‘चहलपहल थप बढ्नेछ, पर्यटकहरु रमाउने क्षेत्रका रुपमा चिनिनेछ ।”
सघन शहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले आकर्षक आरतीस्थल निर्माण १८ महिनामा पूरा हुने बताए । उनका अनुसार २ वटा आर्कषक आरती प्लेटफर्म निर्माण हुनेछन् । २८ मिटर लामो र ५ मिटर चौडा २ वटा आरती भवन बन्ने छन् । ४५ वटा आकर्षक बत्ती जडान गरिने छ । ५ सय वर्गमिटरमा मोज्याक टायल बिच्छ्याइने छ ।
फागुन १० गते सम्झौता भएको यो योजना २०८१ भदौ ९ गते सम्पन्न हुनेछ । महालक्ष्मी–ओम सत्य साई जेभी भरतपुरले निर्माणको जिम्मा पाएको छ । महानगरभित्रका करिब १८ किमि सडक सञ्जाल, देवघाट बसपार्क निर्माण र आरतीस्थल निर्माण हुनेछ ।
आरतीस्थल बनाउन मात्रै पौने २ करोड खर्च हुनेछ । ‘बाढीले पनि नभत्काउने गरी नदी छेउमै आरतीस्थल बन्नेछ”, अर्यालले भने, ‘धार्मिक पर्यटक समेत नदी किनारमा आउने वातावरण बन्नेछ ।”
नारायणी नदी किनारमा २०७६ बैशाखदेखि लगातार साँझआरती गरिँदै आइएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले नदी किनार धार्मिक गन्तव्य बन्न लागेकोमा खुशी व्यक्त गरे । मनको शान्तिका लागि समेत नदी किनार आउनेहरुको संख्या बढ्ने अपेक्षा गरे । नदी किनारमै किनार संरक्षणका लागि ६ सय ४० मिटर दुरीमा संरचनाहरु बन्ने भएका छन् ।
१५ करोड ९२ लाख लागतमा डाइनामिक कन्स्ट्रक्सन प्रालिले १८ महिनामा काम सक्ने गरी पुस ५ गते सम्झौता गरेको छ । नारायणी नदी व्यवस्थापन आयोजनका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शंकर बुढाथोकीका अनुसार ३ सय मिटरको काम सुरु भैसकेको छ । बाँकी काम १ हप्तामै सुरु हुनेछ ।
‘नदी किनारमा साढे २ मिटर उचाइसम्म आकर्षक सिँढीहरु बन्नेछन्”, उनले भने, ‘बाढी आउँदा सिँढीहरु डुब्नेछन्, तर बग्ने छैनन्, यो नेपालमै पहिलो पटक बनाउँदैछौँ ।” खुट्किलाहरु १ मिटरदेखि ५० सेन्टिमिटरका रहने छन् । १० वटा खुट्किलाहरु हुने छन् । माथिल्लो भाग साढे ४ मिटर फराकिलो हुनेछ । ‘सिँढीको माथिल्लो भागमा २२ मिटरको दुरीमा विरुवा रोपेर चौतारी बनाउने छौँ”, उनले भने, ‘पर्यटकहरुले रुखको छहारीमा बस्दै नदी अवलोकन गर्ने छन् ।”
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले निर्माण कार्य तोकिएकै समयमा पूरा गर्न निर्माण व्ययवसायीलाई निर्देशन दिएका छन् । नदी किनारमा साढे ३ किमि मोज्याक टायलसहितको पैदल मार्ग निर्माण कार्य जारी छ ।
झण्डै १ सय वटा चारपांग्रे सवारी राख्न मिल्ने गरी पार्किङस्थल पनि बनाइने योजना रहेको छ । नारायणी नदी किनारमा पूर्वाधार विकासका लागि भरतपुर महानगर, सिँचाई मन्त्रालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेका छन् । नारायणी नदी व्यवस्थापनका लागि २ अर्ब ४३ करोड ४० लाख बराबरको ५ प्याकेजमा कामहरु हुने गरी सम्झौता भएका छन् ।
नारायणी पुलको माथिल्लो भागदेखि गोलाघाटसम्म नदी तटबन्धनको काम समेत हुँदैछ । नारायणी नदी व्यवस्थापन आयोजना चितवनका निर्देशक गणेश मरासिनीले झण्डै १९ किलोमिटर नदीमा तटबन्धन हुने बताए । ‘नारायणीको तटबन्धनका लागि ५ प्याकेजमा कामहरु हुँदैछ”, उनले भने, ‘बाढी पस्नबाट बस्ती जोगिने छ, नदी किनारको नदीउकास जमिनमा पर्यटकीय गतिविधिहरु पनि बढ्नेछ ।”





