भरतपुर , १७ फागुन
चितवन प्रहरीले बुधबार बिहान अवैध बहुमुल्य गरगहनासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कार चालक भारतको उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने वर्ष ४२को विनोदप्रसाद, भारतको पश्चिम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१को गणपत कुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बहुमूल्य गरगहनाको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले भरतपुर-९, गोन्द्राङस्थित महेन्द्र राजमार्ग सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको डब्लूबी १२ एभी ५५६६ नम्बरको कारलाई रोकी कारमा सवार तीनैजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सो गहना बरामद गरेको हो । गहना चालक बस्ने सिटको पछाडिको सिटमुनि, गियर लिभरको रबरभित्र र एयरफिल्टरमा लुकाई छिपाई राखेको बहुमुल्य हिरा, सुन, पत्थर, कार र मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरेको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला, हिराजडित गरगहना २२.८७८ तोला गरी करिब १ करोड १० लाख बराबर रहेको जनाएको छ । उनीहरुलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रवक्ता पण्डितले जानकारी दिए ।





