संघीयताकै कारण मगरका छोराछोरी सम्मानित पदमा : दाहाल

भरतपुर, १५ फागुन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले १० वर्षे जनयुद्धको बलमा ल्याइएको संघीयताकै कारण मगरका छोराछोरी सम्मानित पदमा पुगेको बताएकी छन् ।
४१ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको व्यवस्था परिवर्तन भएकै कारण जनजाति, मधेसी, उत्पीडित वर्गलाई राज्यको सम्मानित पदमा पुर्‍याएको उल्लेख गरिन् ।

विगतमा मगरका सन्तानहरु देशको एउटा मन्त्री बन्न निकै कठिन भएको स्मरण गर्दै मेयर दाहालले वर्षाैंदेखि थिचिएका, हेपिएका, अन्याय, अत्यचारमा परेका समुदाय, आदिवासी जनजातिहरुले आफ्नो समुदायको पूर्ण अधिकारका लागि निरन्तर अन्दोलन र संघर्ष गर्नुपर्नेमा जोड दिइन् ।
‘मगरकै छोरा अहिले उपराष्ट्रपति सम्माननीय पदमा हुनुहुन्छ’, उनले भनिन्, ‘मगरकै छोरी देशको गरिमामय पद सभामुख पदमा हुनुहुन्थ्यो ।’ उनले संघीय गणतन्त्रको स्थापनपछि मगरका सन्तानले विभिन्न निकायको बागडोर सम्हालेको बताइन् ।

मेयर दाहालले संघीयताले केही न केही जागरुक बनाएको र केही न केही अधिकार प्राप्त गरेको धारणा राखिन् । यो नयाँ परिवर्तित व्यवस्थाका कारण हर्षउल्लास र निर्वाध रुपमा दिवसहरु मनाउन पाइएको बताइन् । देशमा भएको परिवर्तनले केही न केही मुद्दाहरु स्थापित भएका छन् भने बाँकी कार्यान्वयनको चरणमा रहेकाले आफ्ना आवाजहरुलाई बुलन्द पार्नु पर्ने मेयर दाहालको भनाइ थियो ।
‘हिजोका विरोधहरु अहिले पनि विषवमन गरिरहेका छन्’, उनले भनिन्, ‘हामी उत्पीडितहरुलाई थिचोमिचो गर्न खोजिरहेका छन् । ठूलो बलिदानीपछि ल्याएको व्यवस्थाविरुद्ध धावा बालिरहेका छन् । यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । अझै संगठित भएर आगडि बढ्ने समय आएको छ ।’

मेयर दाहालले भरतपुर महानगरपालिकाको हरेक वडामा मगरहरुको प्रतिनिधित्व उल्लेख्य संख्यामा हुँदै आइरहेको जानकारी दिइन् । नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा भरतपुरको वडा नम्बर–१७ भुवनवस्ती लखन स्मृति सभाहल निर्माण भई स्तरोन्नति भएको उनले बताइन् । महानगरपालिकाबाट वर्षेनी मगर संघका लागि आर्थिक सहयोग हुँदै आएको भन्दै मेयर दाहालले अबका दिनमा पनि सहयोग हुने प्रतिवद्धता व्यक्त गरिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट