भरतपुर, १५ फागुन ।
भ्यु चितवनकाे आयाेजनामा बालकविद्वय सम्यकराज चालिसे र सम्पदा चालिसेकाे कवितासंग्रह `द मेलाेडी अफ मनि´काे विमाेचन भएको छ । भरतपुर-९ काे डलफिन फन पार्ककाे सभाहलमा करिब दुई सय भन्दा बढी विद्यार्थी एवं साहित्यकारकाे उपस्थितिमा पुस्तक विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी थिए ।
साे अवसरमा कवि एवं समालोचक ईश्वर कंडेलले द मेलाेडी अफ मनीभित्रका कविताहरुकाे समीक्षा गरेका थिए । कँडेलले समीक्षात्मक टिप्पणी राख्दै सम्यक र सम्पदाले सानासाना विषयलाई पनि कलात्मक रुपमा कविताकाे स्वरुप दिएकाे बताए । `दैनिक जीवनका विषयवस्तुदेखि प्रकृति र परालाैकिक शक्तिका बारेमा समेत कविता सिर्जना गरेर कविद्वयले आफ्नो कविता यात्रालाई सानै उमेरमा अब्बल सावित गरेका छन्´, कँडेलले भने ।
कार्यक्रममा समीक्षक डाक्टर एकनारायण पाैडेलले सम्यक र सम्पदाको सिर्जनाकाे प्रशंसा गर्दै उनीहरुका उमेरका अरु भाइबहिनीलाई उनीहरु प्रेरणाकाे स्रोत बनेकाे कुरा बताए । स्टेपबाईस्टेप स्कुलका प्राचार्य कृष्णप्रसाद भट्टले शुभकामना व्यक्त गर्दै सम्यक र सम्पदा आफ्नो विद्यालयका हीरा भएकाे बताए । साे अवसरमा स्टेपबाइस्टेप स्कुलका कार्यकारी निर्देशक जेबी गुरुङले कविद्वयलाई शुभकामना दिँदै अब्बल साहित्य सिर्जनालाई निरन्तरता दिनुपर्ने बताए ।
साे कार्यक्रममा कवि सम्यक र सम्पदाले दुईदुईवटा कविता वाचन गरेका थिए भने अन्य विद्यार्थीहरुले पनि रचनावाचन गरेका थिए ।
कार्यक्रममा बालकृष्ण थपलिया, प्रकाश चापागाईं, बाबुराम खनाल, टीकाराम रेग्मी, प्रेम सिग्देललगायतका साहित्यकारहरु अतिथिका रुपमा सहभागी थिए । समालाेचक उदय अधिकारीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे उक्त कार्यक्रमको सञ्चालन चेतराज रेग्मीले गरेका थिए भने भ्यू चितवनका अध्यक्ष डाक्टर केशवराज चालिसेले कार्यक्रमको अध्यक्षता गरेका थिए । स्रस्टाद्वय डाक्टर चालिसेका सन्तान हुन् ।




