भरतपुर, ८ फागुन ।
प्रसंशा पराजुली स्मल हेभन मोडल स्कुल भरतपुर-२ आँपटारीमा कक्षा-९ मा पढ्छिन् । सोमबार उनी साथीहरूसँगै कक्षामा पढिरहेकी थिइन् । प्रशंसाका बुवा वसन्त पराजुली र विद्यालयका प्रधानाध्यापक विमल क्षेत्री बालपत्रिका मुना बोकेर कक्षामा छिरे । मुनाको फागुन अंकमा प्रशंसाको कविता छापिएको छ । `पहिचानको खोजी´ शीर्षकको उक्त कवितालाई प्रशंसाले साथीहरूको अगाडि पढेर सुनाइन् । त्यसपछि उनले कक्षाका सबै साथीहरूलाई मुना पत्रिकाको माघ र फागुन अंक हातहातमा राखिदिइन् ।
प्रशंसा उक्त कक्षाकी प्रथम विद्यार्थी हुन् । अतिरिक्त क्रियाकलापमा पनि उनी अब्बल रहेको शिक्षिका प्रतिमा अधिकारीले बताइन् । उनका कविता, कथालगायतका सामग्री मुना, गोरखापत्र र अनलाइनमा छापिइरहन्छन् । यसपटक मुनामा कविता छापिँदा उनले उक्त पत्रिका साथीहरूलाई उपहारस्वरूप बाँड्ने इच्छा गरेपछि प्रशंसाका बुवा वसन्त मुना बोकेर विद्यालयमा पुगेका हुन् ।
विद्यालयका प्रधानाध्यापक विमल क्षेत्रीले सबै विद्यार्थीलाई सिर्जनशील हुन अनुरोध गरे । विद्यालयका पाठ्यक्रमका अलावा अतिरिक्त पत्रिका र पुस्तक पढ्ने बानीले विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास हुने क्षेत्रीले बताए । विद्यालयमा नियमितरूपमा गरिने अतिरिक्त क्रियाकलापमा सबै विद्यार्थीलाई समावेश गरिएको पनि उनले बताए ।




