गैंडाकोट, ८ फागुन ।
गैंडाकोट पाँचौं उपप्रमुखकप छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७९ काे उपाधि जनक नमुना मावि गैंडाकोटले हात पारेकाे छ । विजयी टोलीले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेकाे हाे । गैंडाकोट खेलकुद समितिकाे आयाेजना, गैंडाकोट महिला फुटवल क्लव सहयाेगी क्लवकाे रुपमा गैंडाकोट नगरपालिकाकाे प्रवन्धकीय सहयाेगमा प्रतियोगिता सम्पन्न भएकाे लक्ष्मण कार्कीले जानकारी दिए ।
गैंडाकोट खेलकुद समिति गैंडाकोट क्षेत्रीय रंगशालामा फागुन ४ गतेदेखि ६ गतेसम्म भएको प्रतियोगितामा २५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्रसहित बालज्याेति मावि उपविजेता बनेकाे छ । १९ विद्यालय सहभागी प्रतियोगितामा बालज्याेति माविका सन्तमाया मापचन उत्कृष्ट खेलाडी बन्दै ३ हजार पाँच सय रुपैयाँ र कप हात पार्न सफल भएकी छिन् ।
त्यस्तै गैंडाकोट इङ्लिस स्कुलकी अनुषा सुनार उत्कृष्ट रक्षक, जनक नमुना माविकी सविना सुनारी मगर उत्कृष्ट किपर, रितु तामाङ उच्च गाेलकर्ता, पूजा चिताैरे उत्कृष्ट मध्य खेलाडी, प्रमिला शर्मा उत्कृष्ट स्टाइकर बन्न सफल हुँदै ३ हजार पाच सय रुपैयाँ नगद र कप हात पारेका छन् । फेयर प्ले टिमकाे उपाधि भने नारायणी आधारभूत विद्यालयले जितेको छ । जसले ५ हजार रुपैयाँ नगद हात पारेकाे छ । गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी प्रमुख अतिथि रहेर उद्घाटन भएकाे प्रतियोगिताकाे समापनकाे प्रमुख अतिथि उपप्रमुख शान्ति काेइराला रहेकी थिइन् ।
समापन कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, शिक्षा युवा खेलकुद शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, राजनीति दलका प्रतिनिधिलगायतकाे उपस्थिति रहेकाे थियाे ।





