नेपाली कांग्रेसबाट कसले पाउला टिकट ?

भरतपुर, २८ माघ
निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेपछि जिल्लामा सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ । गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवन क्षेत्र नं. २ मा यसपटक कांग्रेसबाट अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् ।

गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आफू पुनः उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेको अवस्थामा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र पूर्वसभापति जितनारायण श्रेष्ठले आ–आफ्नो उम्मेदवारीको दावी गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवन–२ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार बन्ने बताएका छन् । यसका लागि आफूले पार्टीको निर्णय कुर्ने श्रेष्ठले बताए । ‘जे गर्न परे पनि गर्छु तर चितवन–२ मा फेरि पनि मै हूँ उम्मेदवार’ श्रैष्ठले भने, ‘पार्टीको निर्णय पनि कुर्छु । चुनाव पनि मैले नै जित्छु ।’

नेता श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामिछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
काँग्रेसका अन्य दुई नेताले आगामी उपनिर्वाचनमा आफूहरु उम्मेदवारको स्वाभाविक दावेदार र हकदार भएको बताएका छन् । कांग्रेस चितवनका सभापति खनालले चितवन क्षेत्र नं. २ को उम्मेदवार बन्ने चाहना रहेको बताए ।
‘कांग्रेसलाई एकजुट बनाएर सहमतिका साथ उम्मेदवार बन्ने मेरो चाहना छ’, खनालले भने, ‘कांग्रेस एक ढिक्का भएर निर्वाचनमा प्रस्तुत भए कसैले पनि हराउन सक्दैन ।’
उनले आगाामी उपनिर्वाचनमा रवि लामिछानेका कारणले जनताले दुःख पाएको विषय जनताको बीचमा लैजाने बताए । उनले आफ्नो पार्टी भित्रको विवादलाई बसेर मिलाउन सकिने बताए ।

कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले क्षेत्र नं. २ को उम्मेदवारमा आफ्नो स्वभाविक दावी रहने प्रतिक्रिया दिए । ‘मैंले अघिल्लो चुनावमा पनि चाहना राखेको हो, पार्टीले निर्णय गरेपछि छाडेर उमेश श्रेष्ठलाई जिताउन लागियो, परिस्थितिबस फेरि निर्वाचन हुन लागेको छ, म स्वाभाविक उम्मेदवार हुँ’, श्रेष्ठले भने, ‘पार्टीको युवा पुस्तालाई चलायमान बनाएर अगाडि लैजान पनि मेरो उम्मेदवारीको खाँचो छ ।’

पूर्वसभापति श्रेष्ठले माथिबाट टिकट दिने वा तोक्नेभन्दा पनि क्षेत्र नं. २ का आमअगुवा नेता कार्यकर्ताको माझमा छलफल र सहमति गरेर उम्मेदवारी दिँदा सहज हुने बताए । ‘अब टिकट माथिबाट हैन, तल कार्यकर्ताबाट अनुमोदन भएको व्यक्तिलाई दिनुपर्छ, माथिबाट टिकट दिँदा समस्या आउँछ भन्ने पाठ पार्टीले सिकेको होला भन्ने लाग्छ’, श्रेष्ठले भने, ‘सबै बीच छलफल गरेर एक जना उम्मेदवार तय गरेर जानुपर्छ ।’ खनाल र श्रेष्ठ दुबै चितवन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने नेता हुन् ।

गत मंसिरको निर्वाचनमा कांग्रेस माओवादीसहितको पाँच दलको गठवन्धनमा थिए । तर आगामी निर्वाचनमा कांग्रेसलाई माओवादीले साथ दिन सक्ने अवस्था नहुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा जाने अवस्था आउन सक्छ । तर, कांग्रेस जिल्लाका नेताहरुले माओवादीसँग मिलेर जानुभन्दा एक्लै लड्दा कार्यकर्तामा उर्जासँगै मत पनि बढि आउने बताउँछन् ।

संस्थापन इतरका दुबै नेता खनाल र श्रेष्ठ गत मंसिरमा भएको निर्वाचनमा आफूलाई हराउन लागेको आरोप उमेश श्रेष्ठले लगाउँदै आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट