भरतपुर, २८ माघ
भरतपुरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लब भरतपुर ७ ले आयोजना गरेको हो ।
प्रतियोगिताको शनिबार भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । उपप्रमुख अधिकारीले खेललाई खेलको रुपमा मात्रै सीमित नगरी व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । उनले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलाडीहरुले यसको बढीभन्दा बढी फाइदा लिन अपिल गरे ।
फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतको कोलकातासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमराले सहभागिता जनाएको क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लब, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुने क्लबले जनाएको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ७५ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, चितवन सेवा सामाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समीर केसी, नारायणगढ लेडि जेसिज अध्यक्ष सुस्मिता श्रेष्ठ, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल लगायतले बोलेका थिए ।
चितवन निलोको विजयी सुरुवात
स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबलमा आयोजक चितवन भेट्रान निलोले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा चितवन निलोले सिमरा भेट्रान सिमरालाई पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा चितवन निलो १–० ले विजयी भयो । चितवनको जितमा राजकुमार गुरुङले निर्णायक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको २३ औं मिनेटमा चितवनका राजकुमारले गोल गरे । उक्त गोल नै चितवनको जितमा पर्याप्त भयो । उनी नै म्यान अफ दि म्याच चुनिए । यो जितसँगै चितवन निलोले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगितामा आइतबार चार खेल हुनेछ । पहिलो खेलमा बिहान ११ बजे अभिषेक चर्च रजहर र बर्घाट भेट्रान नवलपरासी भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे हेटौंडा भेट्रान क्लब र चाबेल भेट्रान तथा तेस्रो खेलमा दिउँसो २ः३० बजे साबिक विजेता फ्रिडम फाइटर ठमेल र भुपू सैनिक जबई स्पोर्टिङ क्लब भिड्नेछन् । चौथो तथा अन्तिम खेलमा आयोजक चितवन भेट्रान रातो र भनी मण्डल भेट्रान भिड्नेछन् ।





