भरतपुर, २८ माघ ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर – ४ ले आयोजना गरेको अन्तर टोल स्तरीय हाजिरीजवाफ प्रतियोगितामा नवदुर्गा टोल विकास संस्था प्रथम भएको छ ।
शनिबार सम्पन्न प्रतियोगितामा वैकुण्ठ चोक टोल विकास संस्था द्वितीय भयो भने धर्मपथ टोल विकास संस्थाले तृतीय स्थान हात पार्यो । यस्तै वैकुण्ठ पथ टोल विकास संस्थाले सान्त्वना पुरस्कारमा चित्त बुझाएको छ ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको २९औँ वर्ष पूरा भएको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा भरतपुर महानगरपालिका वडा नं ४ का १५ वटा टोल विकास संस्थाको सहभागिता रहेको थियो ।
सहकारी र समुदाय बीचको सम्बन्धलाई दिगो र मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सहकारी संस्थाले जनाएको छ । यस्तै प्रतियोगितामार्फत् समुदायमा सहकारी शिक्षाको सम्प्रेषण गर्ने पनि उद्देश्य रहेको संस्थाका कार्यालय सहायक तथा सूचना अधिकारी शशीधर कँडेलले प्रष्ट पारे ।
कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उपेन्द्रराज सापकोटा सभापति रहेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भुपतिदास सापकोटा प्रमुख अतिथि रहेका थिए । संस्थाका उपाध्यक्ष काशिराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको सञ्चालक समिति सदस्य एवम् शिक्षा उप–समिति संयोजक नरहरी कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू रमाकान्त खरेल र भानुभक्त सापकोटासँगै विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।





