विसं २०७८ सालको एसइईको नतिजा अनुसार औषत जिपिए ३.१६ प्राप्त गरी नारायणगढमा अवस्थित भृकुटी बो. स्कुल जिल्लामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । भरतपुर ई. स्कुल सोसाइटी (बेस) अन्तर्गतका विद्यालयमध्ये प्रथम स्थान हासिल गर्न सफल भृकुटी शैक्षिक सत्र २०७५ सालको आधारभूत तहको परीक्षाको नतिजामा सबैभन्दा बढी औषत जिपिए ३.३७ प्राप्त गरी भरतपुर महानगरपालिकाभित्रका संस्थागत विद्यालयमध्ये प्रथम भएको थियो । यसै सेरोफेरोमा रहेर भृकुटी बो. स्कुलका प्राचार्य रामजी पाण्डेसँग कायाकैरन राष्ट्रिय दैनिकले गरेको कुराकानी :
सर आरामै हुनुहुन्छ ? शिक्षणमा नै व्यस्त हुनुहुन्छ होला, हैन ?
आरामै छु । एउटा शिक्षक, विद्यालय प्रशासक दैनिक व्यस्त नै रहनु पर्ने रहेछ । बिहान उठेदेखि विद्यालयको व्यवस्थापन र शिक्षण सिकाईहरुको व्यवस्थापनमा संलग्न रहेर दैनिकी चलिरहेको छ ।
भृकुटी बो. स्कुलले पटकपटक उत्कृष्ट नतिजा हासिल गरिरहेको छ । कहिले एसइईमा जिल्ला तृतीय र चौथो, कहिले बेस प्रथम, महानगरको उत्कृष्ट विद्यालयको रुपमा परिचित भइरहेको छ । विद्यालयको आन्तरिक नतिजाचाहिँ कस्तो छ ?
हाम्रो विद्यालयको हरेक वर्षको शैक्षिक नतिजा हेर्ने हो भने उत्कृष्ट छ । विद्यालयका आन्तरिक नतिजा पनि राम्रो छ । कक्षा ८ र १० को नतिजाचाहिँ सम्बन्धित निकायले संचालन गर्छ । त्यसको नतिजा मूल्याङ्कनयोग्य देखिन्छ । कक्षा ८ को अन्तिम परीक्षा महानगरपालिकाको मातहतमा संचालन हुन्छ भने कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्छ । स्तर मापन गर्ने आधार पनि यिनै परीक्षाका नतिजा हुन् । यदि आन्तरिक नतिजा राम्रो नहुने हो भने त कक्षा ८ र १० को नतिजा पनि राम्रो हुँदैन नि । हाम्रो विद्यालयको नर्सरीदेखि कक्षा १० सम्मको नतिजा उत्कृष्ट नै छ ।
उत्कृष्ट नतिजा पछाडि पक्कै पनि विद्यालयको व्यवस्थापनको ठूलो भुमिका हुन्छ । व्यवस्थापनबारे प्रस्ट पारिदिनुहुन्छ कि ?
एउटा व्यक्ति चल्नदेखि संस्था र देश राम्रोसँग चल्न व्यवस्थापनको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयको चुस्त र गुणस्तरीय व्यवस्थापनमा हामी सधैँ सचेत रहन्छौँ । सोही अनुसार चल्छौँ । विद्यालय संचालक समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रिन्सिपल, भाइस प्रिन्सिपल, तह प्रमुख, विषय प्रमुख, अतिरिक्त क्रियाकलाप प्रमुख र शिक्षक, कर्मचारीको तोकिएको जिम्वेवारीले र त्यसको कार्य सम्पादनबाट नै विद्यालयको दैनिक प्रशासन संचालन भइरहेको छ ।
लोभलाग्दो नतिजा, आधुनिक भौतिक पूर्वाधार, उपयुक्त स्थान । यी त देखिने विशेषता भए, सँगसँगै विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयले अपनाएका रणनीतिहरु के के छन् ?
हामीले प्राप्त गरेका नतिजा, विद्यालयको भवन, टाढाका विद्यार्थीहरुका लागि विद्यालयको बस, खानेपानी यी त देखिने पूर्वाधार हुन् । त्यो हामीमा छँदै छ । यो बाहेक विद्यालयले बिहानको प्रार्थना समयमा हाजिरी जवाफ सम्बन्धी प्रश्नहरु सोधिन्छ, समाचारवाचन गरिन्छ । बोल्नका लागि प्रोत्साहन गरिन्छ । व्यवस्थित रुपमा शिक्षण सिकाइ क्रियाकलाप हुन्छ । विद्यार्थीहरुलाई ४ वटा सदनमा विभाजन गरी सोही अनुसार अतिरिक्त क्रियाकलापमा सहभागी गराई प्रत्येक सदनको सदन बोर्ड, विद्यालयले नियमित गर्ने क्रियाकलापहरु हुन् । साथसाथै विद्यार्थीहरुको वास्ताविक क्षमताको पहिचान गरी त्यो क्षमताको निरन्तरको लागि प्रत्येक त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको समयमा प्रत्येक कक्षाका विद्यार्थीहरुलाई शैक्षिक उपलब्धिका साथसाथै विविध विधामा पुरस्कृत गरिन्छ । विद्यार्थीलाई नियमित परामर्श, अभिभावकसँग अन्तरक्रिया, पूर्वतयारी त्रैमासिक परीक्षालगायतका कार्यक्रमहरु संचालन भइरहेका छन् ।
भृकुटी बो. स्कुल अरु स्कुलहरु भन्दा किन फरक छ ? अभिभावकहरुले आफ्ना बाबुनानीहरुलाई भृकुटीमा नै किन पढाउने ?
ठिक प्रश्न गर्नुभयो । शहर बजारमा यति धेरै सामुदायिक तथा संस्थागत विद्यालयहरु संचालनमा छन् । भृकुटीमा नै किन पढाउने त ? सर्वप्रथम विद्यालयले हासिल गरेका नतिजाहरुलाई हेर्नुहोस् । प्रत्येक अभिभावकले आफ्नो सन्तानको उज्ज्वल शैक्षिक भविष्यको लागि हरेक पल सोचिरहनु भएको हुन्छ, त्यो शैक्षिक गुणस्तर हामीले प्रदान गरिरहेका छौँ । हाम्रा नतिजाहरुले यसलाई प्रमाणित गर्छन् । छोटो समयमा भृकुटी बो. स्कुलबाट एसइई उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु आज देश तथा विदेशमा दक्ष जनशक्तिको रुपमा कार्यरत हुनुहुन्छ । अर्को कुरा हामीसँग आधुनिक भौतिक पूर्वाधारहरु पनि छन् । सँगसँगै सम्भवतः पहिलोपटक विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि एउटा छुट्टै विद्यार्थी मूल्याङ्कन विषय समावेश गरी अभिभावक र विद्यार्थीलाई सँगै राखी पृष्ठपोषण दिन्छौँ । प्रत्येक शनिबार नियमित परीक्षाहरु संचालन गर्दछौँ । यी समग्र शैक्षिक गतिविधिले विद्यार्थीको चौतर्फी विकास हुने भएकोले भविष्यमा अभिभावकहरुले आफूले चाहेको जस्तो दक्ष शैक्षिक जनशक्तिको रुपमा आफ्ना बाबुनानीहरुलाई पाउन सक्नुहुनेछ ।
अन्त्यमा,
हाम्रो यस भृकुटी बोर्डिङ स्कुलको नतिजा र समग्र शैक्षिक क्रियाकलापको बारेमा जानकारी दिने अवसर प्रदान गर्नुभएकोमा तपाईं र पत्रिका प्रकाशनको सम्पूर्ण टिमलाई धन्यवाद ।




