भरतपुर, २६ माघ ।
भरतपुर महानगरपालिकाले वडा नम्बर १३ र २३ लाई बालमैत्री वडाका रुपमा घोषणा गर्ने तयारी गरेको छ । वडा नम्बर १३ को प्रक्रिया अन्तिम चरणमा पुगेको र २३ नम्बर आवश्यक प्रक्रियामा गएको महानगरपालिकाले जनाएको छ ।
हिमालयन लाइफको आर्थिक सहयोगमा वडा नम्बर १३ र आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा नम्बर २३ लाई बालमैत्री वडाका रुपमा घोषणा गर्ने तयारी गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।
स्थानीय बाल अधिकार समितिका संयोजक तथा भरतपुर महानगरपालिकाका नगरउपप्रमुख चित्रसेन अधिकारीले महानगरका सबै वडा बिस्तारै बालमैत्री वडाका रुपमा घोषणा हुने गरि काम भइरहेको बताए । अहिले भरतपुर महानगरपालिकाले एक दुईवटा वडालाई बालमैत्री वडाका रुपमा घोषणा गर्ने गरिरहेकोमा अब छिट्टै नै २९ वटै वडालाई बालमैत्री वडाको रुपमा घोषणा गरिने तयारीमा महानगर रहेको अधिकारीले बताए । `हामी हाम्रो महानगरलाई सुन्दर, शान्त, भयरहित साथै बालमैत्री महानगरको रुपमा हेर्न चाहन्छौं´ उपप्रमुख अधिकारीले भने ।
`बालमैत्री वडाका रुपमा घोषणा हुनलाई विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नुपर्छ´ महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुशीला वाग्लेले भनिन्- `बालमैत्री वडा घोषणा हुन पाँच वर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पुर्ण रुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्री संरचनाहरु निर्माण भएको हुनुपर्नेलगायतका ५१ वटा सुचकहरु पार गरेपछि मात्रै बालमैत्री वडाको रुपमा घोषणा गर्न मिल्छ ।´
भरतपुर महानगरपालिकाले हाल अभिभावकबिहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाई प्रदेश सरकारको सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस वर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागि ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेव ढकालले जानकारी दिए ।
महानगरपालिकाले यस अघि २०७६ सालमा वडा नम्बर १४ लाई बालमैत्री वडाको रुपमा घोषणा गरिसकेको छ ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ को १ ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार स्थानीय सरकारलाइ दिएको छ ।




