गैंडाकोट, ८ माघ ।
नवलपुरका नेपाल स्वास्थ्य बीमा बोर्डका वडा संयोजक र नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका जिल्ला अधिकृतबीच आइतबार गैंडाकोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नवलपुर स्वास्थ्य बीमा बोर्डका अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि दीपक चापागाईंले स्वास्थ्य बीमा कार्यक्रमको दिगो विकासका लागि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य र स्वास्थ्य बिमा ऐन २०७४ मा भएको व्यवस्थाका सम्बन्धमा तादात्म्य मिलाउँदै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले पटकपटक फेरिने सरकारतर्फ इंगित गर्दै बीमितको पक्षमा निर्णय आएपनि कार्यान्वयनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताए । जिल्लाभर रहेका दर्ता सहयोगीहरुको माग र हकहितमा कानुन बनाएर अगाडि बढ्नुपर्ने पनि उनले सुझाव दिए ।
नवलपुरका प्रत्येक वडामा रहेका दर्ता संयोजकको आयोजनामा गरिएकोमा ´स्वास्थ्य बीमा र प्रभावकारी कार्यान्वयन´ अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका जिल्ला अधिकारी निर्मला कार्की र कल्पना बस्यालले सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई अझ भरपर्दो बनाई यसको दायरा बढाउन सुझाव पनि दिएका छन् ।
दर्ता संयोजक होमनाथ पौडेलले उपस्थितलाई स्वागत मन्तव्य राख्दै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूमा औषधीको उपलब्धतामा कमी, सेवा प्रदायक स्वास्थ्य संस्थाको तयारी एवं जिम्मेवारी बीमित र गैरबीमितको उपचारमा फरक, स्वास्थ्य संस्थाको तहअनुसारको सेवा प्राप्त नहुने गुनासो, स्वास्थ्य संस्थाहरूमा डिजिटल प्रविधि अभाव, कमजोर एप्सको प्रयोग, प्रदेश र स्थानीय तहबाट स्वास्थ्य बीमा कार्यक्रमप्रति जिम्मेवारीबोधमा कमीलगायतको समस्याबाट ग्रसित भएको गुनासो गरे ।
जिल्लामा पहिलोपटक गरिएको कार्यक्रमको अध्यक्षता सुजन अधिकारीले गरेका थिए ।अधिकारीले आफ्नो टिमले जिल्लाभर विशिष्टकृत स्वास्थ्य सेवामा काम गरिरहेको बताउँदै समाजमा यो सेवामूलक अभियानलाई घरघरमा पुर्याउने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । कार्यक्रमको मीनाक्षी कंडेलले सहजीकरण गरेकी थिइन् ।





