भरतपुर, २३ पुस ।
गएको आर्थिक वर्ष २०७८/७९ मा भरतपुर अस्पतालको बहिरंग सेवा (ओपिडी) बाट २ लाख ५२ हजार ८९४ जना सेवाग्राहीले सेवा लिएका छन् । सोही आर्थिक वर्षमा २७ हजार ६१७ जना बिरामीले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ ।
अस्पतालले शुक्रबार सार्वजनिक गरेको स्वेतपत्र अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा ०७८ /७९ मा अस्पतालबाट सेवा लिने सबै खाले बिरामीको संख्या करिब ६४ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा बहिरंग सेवामा १ लाख ४९ हजार ९४८ जनाले सेवा लिएका थिए भने आकस्मिक सेवातर्फ २१ हजार ६५ जनाले सेवा लिएका थिए । त्यसै गरी आर्थिक वर्ष २०७६/७७ मा २ लाख २४ हजार ४८१ जनाले ओपिडी र २७ हजार ५८८ जनाले आकस्मिक सेवा प्राप्त गरेका थिए । पछिल्ला तीन आर्थिक वर्षमा अस्पतालबाट कूल ७ लाख ३ हजार ५९३ जनाले ओपिडी तथा आकस्मिक सेवा लिएका हुन् । अस्पतालको ओपिडीमा हाल दैनिक १ हजार २०० देखि १ हजार ७०० को संख्यामा बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
यस्तै, गत आर्थिक वर्षमा अस्पतालमा भर्ना भएका बिरामीको संख्यामा पनि वृद्धि भएको अस्पतालको स्वेतपत्रमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षभर २६ हजार ८४० जना बिरामी अस्पताल भर्ना भएकामा आर्थिक वर्ष २०७७/७८ मा २३ हजार २२ जना बिरामी अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालको पछिल्ला तीन वटा आर्थिक वर्षको तथ्याङ्क अनुसार शल्यक्रियाको प्रयोग गरेर गर्भवती महिलालाई सुत्केरी गराउने दर पनि बढेको पाइएको छ । आर्थिक वर्ष २०७६/७६मा त्यसको दर २९.६३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा बढेर क्रमशः ३१.८६ र ३४.४ प्रतिशत पुगेको हो । भरतपुर अस्पतालमा आर्थिक वर्ष २०७६/७७ मा १२ हजार ६९२ जना महिलाहरू सुत्केरी गराइएका थिए । आ.व. २०७७/७८ मा सो संख्या घटेर ९ हजार ९७० पुगेकोमा गएको आर्थिक वर्षमा पुनः वृद्धि भई १२ हजार २०७ पुगेको थियो ।
गएको आर्थिक वर्षमा अस्पतालमा हुने मृत्यु दरमा भने कमी आएको अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा त्यस्तो दर १.२ प्रतिशत रहेको थियो भने २०७८/७९ मा अस्पतालमा हुने मृत्यु दर घटेर ०.९१ पुगेको हो । यद्यपि आर्थिक वर्ष २०७६/७७ मा (०.७५ प्रतिशत) गत वर्षको भन्दा पनि कम मृत्यु दर रेकर्ड गरिएको थियो ।
अस्पतालले स्थानीय तहसँगको सहकार्यमा निकट भविष्यमा नयाँ डायलाइसिस वार्ड सञ्चालन गर्ने योजना बनाएको छ । यस्तै आउँदो एक महिनाभित्र थप १० शय्याको आइसीयु तथा पीआइसीयु स्थापना गरिने अस्पतालले जनाएको छ । कूल ६०० बेड क्षमताको अस्पतालमा हाल २० बेडको आइसीयु र १० बेडको एनआइसीयु छन् ।
सरसफाइमा भएन अपेक्षाकृत प्रगति
अस्पतालले सार्वजनिक गरेको स्वेतपत्रमा अस्पताल हाताभित्र ढलनाला र फोहोर व्यवस्थापनको समस्या जस्ताको तस्तै रहेको जनाइएको छ । अस्पतालमा हस्पिटल वाटर डिस्पोजल रहेपनि फोहोरको विसजर्नमा समस्या रहेको अस्पतालले उल्लेख गरेको छ । जसले उपचारका लागि अस्पताल पुग्ने बिरामी तथा तिनका अभिभावकमा प्रतिकूल असर पर्ने सम्भावना पनि बढाएको छ ।





