मङ्सिरको आखिरी दिन एक प्रेमिल साँझ सम्पुर्ण किताब नारायणगढको दैलोमा कान्तिपुरका पत्रकार रमेशकुमार पौडेलसँग गफिने निधो भयोे । हामी त्यहाँ पुग्यौँ, चियासँगै सिङ्गो वातावरण नै गुलियो भयो । छुट्ने बेला दुई पुस्तक किनें मैले, त्यस मध्ये सम्पूर्णका सञ्चालक लेखरामजीको सिफारिसमा मेरो हात पर्यो ‘शून्यको मूल्य ‘ ।
मझौला आकार, हल्का वजन, आमाको गर्भमा फूल झैं फूलिरहेको बच्चाको बिम्ब । लेखक डाक्टर नवराज केसीले सङ्केत गरेझैँ सास ,साहस र स्नेहको कथा होला त शून्यको मूल्य ? कस्तो होला पुस्तक ? कौतुहलता जाग्यो र यसको दैलोमा हतार हतार प्रवेश गरें ।
पहिलो शीर्षक थियो ‘बुधेकी फुपु’ मेडिकल डाक्टरले लेखेको भाषा यति चुम्बकीय र रसात्मक थियो, म डुब्दै गएँ । शब्द शब्दमा कर्णालीका भयानक र बिकराल पहाडका भित्ताहरुबाट त्रासदीको हुरीले नउडाएर बाँचेको जीवनको संवाद थियो । संवाद मनदेखि मनसम्मको थियो पुरै हृदयले गरेको । एक बेनामे महिला जसको नामसम्म पनि छैन उनी डोकामा बच्चा बोकेर अस्पतालसम्म पुग्छिन्, डाक्टरसम्म पुग्छिन् । डोकाको पिंधमा केही मैला कपडा कोचिएका थिए । पसिनाको रसमा चुर्लुम्म डुबेका कपडा डोकोमा बोकी हिँड्दा बास्नाको फुलबारी नै बोकेझैं भएको थियो । डाक्टरले नबोल्ने बच्चाको समस्या पहिल्याउन संवाद थाल्छन् ।
कहाँ जन्मेको हो ? ‘ घरमा !’
‘मैना पुगेर जन्मेको थियो ?’ ‘थाहा नाइँ मलाई ‘ जन्मदा केही गाह्रो भएको थियो कि ? खोइ के भन्ने आँफै जन्मियो गोठाँ कोही मान्छे नाइँ वरपर, आफैं हसियाँले नाइटो काटेकी हुँ । दुई दिनपछि दुध चुस्यो । ठिकै थियो, गाह्रो त केही भएन भन्नुपर्यो । `पृथ्वी भन्दा पनि गह्रौं जवाफ हलुका हाउभाउले सजिलै उनले भुँइमा झारिदिइन् ।
यी र यस्तै सजीव संवादहरुले भरिएको छ पुस्तक, जहाँ लेखकले प्रादुभावमा नै जोन लेननको भनाइ राखेका छन् जसले जीवनको मूल्यबोध गराउँछ ।
जब म स्कुल गएँ मलाई सोधियो
_तिमी के हुन चाहन्छौ जिन्दगीमा ?
मैंले भनें `खुसी´
उनीहरूले भने -मैले प्रश्न बुझिन रे ।
मैले भनें- तिमीहरुले जिन्दगी नै बुझेनौ ।
‘शून्यको मूल्य’पुस्तकले कर्णालीको मिहिन परिचय मात्र बोकेको छैन ।त्यहाँका आमाहरुले गरेको अवर्णनीय सङ्घर्षको बहीखाता खोतल्ने प्रयत्नसँगै सम्मानमा दिलको फूल चढाएको पनि छ । ज्वरोको पनि कुनै उपचार हुन्छ र ज्वरोको उपचार त समय हो समय पुगेपछि ज्वरो समाप्त हुन्छ भन्ने सिटामोल अभावको दर्शन थापित गरेर कसरी आमाहरु बाँच्न अभिशप्त छन् त्यसको कहालिलाग्दो चित्र पनि पुस्तकमा भेट्न सकिन्छ । हरेक सन्तानको जीवनमा हुरी मात्र आउँदा पनि आमाको मनमा त सुनामी नै गएको हुन्छ । जव सन्तानको अधरमा खुसीहरु नाच्न थाल्छन् तब आमाको अनुहारको आकाशमा उडेर जान्छन् बादलका मुस्लाहरु सायद यस्तै खुसीहरु जुराइदिएको थियो डाक्टरसँगको भेटले पहिलो पटक अस्पतालमा पुगेकी भुनभुनेकी आमालाई ।
कसरी आउँछन् मान्छेको जीवनमा दुखका जुलुसहरु यसको दृष्टान्त थियो बुधेकी फुपुको जीवन क्रमबद्ध रूपमा आइपरेका दुखका भ्वाङहरु टाल्दा टाल्दै सकिएको थियो उसको जीवन, अन्त्यहीन दुखको आख्यान । बुधेको बालापनको बर्णन साथै उसको विद्यालय जीवन पढ्दा आफ्नै अतितको दृश्य झलझली सिनेमा घरको पर्दामा हेरेझैं लाग्छ, उसको निर्दोश बाल चञ्चलता र अभावको महाआख्यान जो कोहिका गला अबरुद्ध हुन्छन् बुधेको बचपन छिचोल्दा । बुधेकी फुपु जो अभाव र दुखको भवसागर तरेर गर्दै थिइ जीवनको यात्रा, उसको जीवनमा भएको हिउँको सगरमाथा भन्दा ठुलो विभेदको सगरमाथाले कसरी दपेटेको छ उसको छाती, त्यसको फेहरिस्त देखिन्छ कथामा ।
`बुबालाई चिठी´ शीर्षकमा हामीले बोलेका दुई चार शब्दले मान्छेको जीवनमा कत्रो चमत्कार हुनसक्छ, उनीहरुको धुवाँ पुत्ताइ रहेको जीवनमा कसरी आगो बल्न सक्छ वा कसरी बदलावको बाटो पक्रन सक्छ भन्ने दृष्टान्त पेश गरिएको छ।भेँडिनी कान्छी, मृत्यु पछिको जीवन, पुतली आमा सबै सबै शीर्षक भित्र पृथक पृथक जोदाहा पात्रहरूको जीवन्त कथा छ । पिंधका भुईँमान्छे हरुको रहस्यमय जीवनको महाकाव्य छ ।
यस पुस्तकमा भेटिएका कर्णालीका दुख, शासकीय मनोविज्ञान, पहिलो पुस्ता र तेस्रो पुस्ताको प्रगाढ संवाद र सम्बन्धको प्रभावले बालबालिकाको समग्र विकासमा पुर्याउने योगदान, बाल मनोविज्ञान, महिला हिंसाविरुद्धको बिद्रोही चेतलगायतका बहुआयामिक विषयहरू समावेश छन् । प्रयुक्त पात्रहरुको जीवनवादी दृष्टिकोण, उनीहरुकै जनबोली टपक्क टिपेर कथाको धागोमा उन्दा पात्रहरले पाठकको हृदयमा डेरा जमाइ सुन्दर मालाको रुपमा सजिएका छन् ।
आञ्चलिकताको विशेष प्रयोगले कथा पढ्दा माटो बोलिरहे झैं लाग्छ।
मूलतः “महिलाको शरीर फूल होइन,फल मात्र पनि होइन,फूल र फल निस्कने बृक्ष मात्र पनि होइन, माटो हो मानव सभ्यता उम्रने एक मलिलो माटो” यो लेखकको अभिव्यक्ति हो । उनी भन्छन् बलिया आमाहरु भएमा मात्र सन्तान स्वस्थ र बलिया जन्मछन्,त्यसका लागि आमामा लगानी गर, बलिया स्वस्थकर आमाको निर्माण गर ।
समग्रमा डा.नवराज केसीको यो पुस्तक सकसपूर्ण जीवन बाँचेका आमाहरुको यथार्थ कथा हो । जहाँ प्रत्येक पात्रहरु दिलदेखि बोलिरहेका छन्, आँशु,आवेग र साहसले देखाएको बाटो अनि बाध्यता,दुख र अभावको विश्वविद्यालबाट सिकेको सिकाइ यहाँ भेट्न सकिन्छ । कतै कतै नभैदिए पनि हुन्थ्यो जस्तो लाग्ने डाक्टरी कुरा र तथ्याङ्क बाहेक पुस्तकमा कतै विकर्षण भेटिंदैन । कर्णाली नदीजस्तै सलल बगेको छ पुस्तकको भाषा ।
एक बालरोग विशेषज्ञको आँखाले देखेको यति सघन कर्णाली र त्यसको कथा व्याथाको सुगन्धित पराग साथै सरल र सरस भाषाको जादुमयी अभिब्यक्ति कौशल हेर्दा लाग्छ पहिलो कृति नै यति ओझिलो लेख्ने डा. केसी लामो रेसको तयारीमा जुटेका बलिष्ट धावक हुन् । ‘शून्यको मूल्य’जस्तो गुरुत्व बोकेको पुस्तक लेख्ने डाक्टर नवराज केसीलाई हार्दिक बधाई तथा आगामी लेखन यात्राको भब्य शुभकामना ।





