काठमाडौं, २३ मंसिर ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्ने कार्यक्रम छ ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ ।
बाढीका कारण गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।





