अस्पष्ट बोल्ने बालबालिकाका लागि बोल्ने शिविर

भरतपुर, २१ मंसिर ।
भरतपुरमा स्पिच थेरापी अर्थात बोलीको शिविर कार्यक्रम गरिएको छ । फेक्ट नेपालको आयोजनामा रिसर्ज इन्टरनेशनलको आर्थिक सहयोग तथा नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको आतिथ्यमा स्पिच थेरापी क्याम्प (बोलीको शिबिर) गरिएको थियो ।

जन्मजात खोँडे (तालु काटेका) भएका, शल्यक्रियापश्चात समेत बोल्न समस्या भएका र अस्पष्ट शब्द उचारण गर्ने स्वभाव भएका बालबालिकाहरुलाई स्पष्ट रुपमा बोल्न सक्ने बनाउनका लागि मंसिर १३ गतेदेखि २० गतेसम्म कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख संयोजक हेमन्तध्वज जोशीले बताए । चितवनलगायत १५ जिल्लाहरुबाट कुल ४८ जना खोँडे बालबालिकाहरु सो तालिमबाट लाभावान्वित भएका आयोजकले बताएको छ । खोँडे जन्मिएका बच्चाहरुको तालुमा हुने प्वाल शल्यक्रियापश्चात पनि पूर्ण रुपमा नपुरिने हुँदा उनीहरुले उच्चारण गर्ने शब्दहरु अस्पष्ट हुने प्रशिक्षक स्पिच प्याथोलोजिष्ट डाक्टर भवानी प्रधानले बताए । `कुन शब्दहरुलाई कसरी उच्चारण गर्दा स्पष्ट हुन्छ भन्ने सिकाएर त्यसलाई अभ्यस्त बनाउनका लागि पनि कार्यक्रममा बच्चाका अभिभावकलाई समेत आवासीय सुबिधा दिएर कार्यक्रम गरिएको हो´, डाक्टर प्रधानले भने ।

मुख्य प्रशिक्षक रहेर कार्यक्रम अवधिभर तालिम प्रदान गरेका स्पिच थेरापी एसिस्टेन्ट कविता भट्टराई गुरुङले थेरापीमा सहभागी बालबालिकाहरुलाई प्रत्यक्ष बोल्न लगाएर तालिमपश्चात उनीहरुमा आएको परिवर्तनका बारेमा जानकारी दिएकी थिइन् । कार्यक्रममा उपस्थित अभिभावकले बच्चा जन्मिएदेखि आजसम्म परिवार र समाजले गर्ने फरक व्यवहारका बारेमा अनुभव सुनाएका थिए । समापन कार्यक्रमको अध्यक्षता लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पिआरओ ईन चिफ लायन बालगोपाल चुकेले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, विशेष अतिथि जनस्वाथ्य अधिकृत सूर्य तिवारी, गैर सरकारी समन्वय समिति भरतपुर महानगरपालिका शाखा प्रमुख सुकदेव ढकाल रहेका थिए । त्यसैगरी कार्यक्रममा आतिथ्य क्लबका अध्यक्ष लायन रामचन्द्र सापकोटा, पदाधिकारीहरु लायन राजु पिया, लायन अन्जु पिया, लायन जीवनकुमार गुप्ता, लायन शेरबहादुर पौडेललगायतको उपस्थिति रहेको थियो । सहभागी अभिभावकले कार्यक्रम लक्षित बालबालिकाहरुलाई आफ्नो घर, परिवार र समाजबाट उनीहरुले बोलीका कारण बेहोर्नपर्ने हैरानी, हिनताबोधलाई यी खाले तालिमको माध्यमबाट हटाउन भूमिका खेल्ने भन्दै आयोजक फेक्ट नेपाललाई धन्यवाद व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट