भरतपुर, २१ मंसिर ।
तामाङ पत्रकार संघ चितवन शाखाले १९औं स्थापना दिवस मनाएको छ । संघले १९औं स्थापनाको अवसर पारेर बुधबार भरतपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
तामाङ पत्रकार संघ केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि राजेश रुम्बा तामाङले राज्यको जुनसुकै तहतप्कामा पुग्नका लागि संगठित हुन जरुरी भएको बताए । संगठित भए मात्र तामाङ समुदायको उदय हुने उनको जिकिर थियो ।
प्रमुख अतिथि तामाङले संघको चितवन शाखालाई आफ्नो पहुँच हुने सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय निकाय तथा सामाजिक संघ संस्थाबाट आवश्यक पर्ने र संस्था हितका लागि आफू सदैव लागि परेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनको सदस्यता आवेदन फर्म खुला भएको जानकारी गराउँदै सदस्यताका लागि आवश्यक कागजपत्र जुटाई निवेदन दिन उनले आग्रह गरे । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भएकोले उक्त संस्थाको सदस्यताका लागि तामाङ संचारकर्मीहरुलाई सुझाव समेत दिए । उनी बागमती प्रदेश फोनिजका उपाध्यक्ष समेत हुनुहुन्छ ।
तामाङ पत्रकार महासंघ चितवनका अध्यक्ष बबिलाल तामाङले समाज रुपान्तरणको लागि मिडियाको भूमिका महत्वपूर्ण भएको बताए । मिडियामा लेखनशैली भएका जनजाति पत्रकारहरु कम भएको बताउँदै लेखनतर्फ लाग्नु पर्ने उनको सुझाव थियो । अध्यक्ष तामाङले पत्रकार समाजको दर्पण भएको हुँदा हामीले समाजप्रतिको दायित्वलाई भुल्न नहुने बताए ।
जनजाति समुदायमा विशेषगरी तामाङ समुदाय मिडिया आउनै नचाहने टड्कारो समस्या देखिएको उनको भनाइ छ । तामाङ समुदाय प्रचारप्रसारलाई बेवास्ता गर्दा पछि परेको उनको जिकिर थियो ।
कार्यक्रममा संघका सचिव प्रकाश तामाङ, कोषाध्यक्ष प्रतिमा तामाङ, सहसचिव सन्तोष तामाङ, सदस्यहरु सुरेश तामाङ, युवक तामाङ, सीमा तामाङलगायतले स्थापनाको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।
मिडियामा आवद्ध तामाङ संचारकर्मीहरुलाई एकै ठाउँमा गोलबद्ध गर्ने उद्देश्यसहित २०६१ सालमा तामाङ पत्रकार संघ गठन भएको हो । तत्कालीन समयमा तामाङ संचार समूह गठन भएको संस्था दोश्रो केन्द्रीय महाअधिवेशनले तामाङ पत्रकार संघ नामाकरण गरी संशोधन भएको हो ।
तामाङ पत्रकार संघ जिल्ला शाखा चितवन २०७० सालमा गठन भएको हो भने संस्थापक अध्यक्ष उर्गेन तामाङ हुन् ।





