भरतपुर, २१ मंसिर ।
भरतपुरमा अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई खेल मैदानकाे रूपमा सञ्चालन गर्न भरतपुर क्रिकेट क्लबले पहल गर्ने भएकाे छ ।
रंगशालाकाे रूपमा पूर्ण सञ्चालन हुने छाँट नदेखिइरहेकाे बेला क्लबले सबै क्रिकेटप्रेमीकाे साथ लिएर सरसफाइ गरी खेल्न मिल्ने बनाउन लागेकाे जनाएकाे छ ।
क्लबले यस अभियानलाई ‘मैदानकाे सरसफाइ तथा सञ्चालनका लागि संघर्ष कार्यक्रम’ भनेकाे छ । याे अभियान मंसिर २४ गतेबाट थाल्ने क्लबका अध्यक्ष तथा क्रिकेट प्रशिक्षक अनिल अधिकारीले जानकारी दिए ।
‘आर्थिक अनियमितता र भद्रगाेलमा फसेकाे रंगशाला टिनले घेरेर राखिरहेर केही फाइदा छैन’, अधिकारीले भने- ‘सफा गरेर खेल्ने मैदान मात्रै बनाउन सके पनि कैयौं खेलाडी उत्पादन गर्न सकिन्छ ।’
खेल मैदानकै अभावले चितवनमा खेलाडी उत्पादन ठप्प भएकाे उनकाे भनाइ छ । ‘यहाँ(चितवन)का खेलाडी प्रदेश र राष्ट्रिय टिममा आउन छाडे’, उनले भने- ‘नियमित खेल्ने ठाउँ बनाउन सकिए त्यसले सहज हुने थियाे ।’
संघर्ष कार्यक्रममा भरतपुर क्रिकेट क्लबले सबै खेलाडी र क्रिकेटप्रेमीलाई सहभागी गराउन चाहेकाे छ । त्यसमा स्वतस्फूर्त सहभागी हुन अधिकारीकाे आह्वान छ ।
भरतपुर-१५ मा धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा बनिरहेकाे रंगशाला आर्थिक संकटका कारण अलपत्र छ । आर्थिक संकलन गरी रंगशाला सक्ने जिम्मा लिएकाे फाउन्डेसनले करिब ३५ प्रतिशत काम सकिएपछि १६ कराेडभन्दा माथि ऋण लागेकाे भन्दै हात उठाएको हाे । उक्त रंगशाला करिब १५ महिनादेखि कामविहीन छ । रंगशालामा झार उम्रेकाे छ ।





