भरतपुर, १७ मंसिर ।
क्यामरुनले विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा ब्राजिललाई पराजित गरेको छ । क्यामरुनसँग पराजित भएपनि ब्राजिल समूह विजेता हुँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यही समूहमा सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड उपविजेता हुँदै विश्वपकपको नकआउट चरणमा पुगेको छ ।
एक खेलअघि नै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको ब्राजिल क्यामरुनसँग १–० गोलले पराजित भयो । क्यामरुनका लागि खेलको इन्ज्युरी समयमा भिसेन्ट अबौबाकरले गोल गर्दै ब्राजिलविरुद्ध जित दिलाए । एकपछि अर्को गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा ब्राजिलले क्यामरुनसँग हार ब्यहोरेको हो ।
यता, जित्नै पर्ने दबाब रहेको स्वीट्जरल्यान्डले सर्बियालाई हराएसँगै जारी विश्वकपको नकआउट चरणमा पुग्ने अन्तिम राष्ट्र बनेको हो । स्वीट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले पराजित गर्दै समूह ‘जी’ को उपविजेता बनेको हो ।
खेलको २०औँ मिनेटमा हेर्दान शाकिरीले गोल गर्दै स्वीट्जरल्यान्डलाई १–० को अग्रता दिलाए । तर २६आँै मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ को बराबरी दिलाए । खेलको ३५औँ मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ गोलको अग्रता दिलाए । तर ४४औँ मिनेटमा ब्रिल इम्बोलोले गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफसम्म २–२ गोलको बराबरी खेलेको थियो । खेलको ४८औँ मिनेटमा रेमो फ्रउलरले गोल गर्दै स्वीट्जरल्यान्डलाई ३–२ को जित दिलाए ।
समूह ‘जी’ को शीर्ष स्थानमा रहँदै विजेता बनेको ब्राजिलले तीन खेलबाट ६ अंक बनायो । स्वीट्जरल्यान्डले तीन खेलबाट ६ अंक बनाउँदा ब्राजिललाई पराजित गरेको क्यामरुनले चार अंक बनायो । यता, सर्बियाले भने तीन खेलबाट एक अंक मात्रै बनाउन सक्यो ।





