भरतपुर, १६ मंसिर ।
फिफा विश्वकपको समूह एफ बाट मोरक्को र क्रोएसिया अन्तिम १६ प्रवेश गरेका छन् ।
बिहीबार राति सम्पन्न खेलमा मोरक्कोले क्यानडालाई २-१ गोलले हरायो । यस्तै क्रोएसिया र बेल्जियमले भने गोलरहित बराबरी खेले । मोरक्को ३६ वर्षपछि नकआउट चरण प्रवेश गर्दा क्यानडाले पनि ३६ वर्षपछि समूहका सबै खेलमा पराजित हुँदै बाहिरिएको छ । समूह एफको विजेता बन्दै मोरक्को दोस्रोपटक नकआउटमा पुगेको हो ।
बिहीबार मोरक्कोको जीतमा खेलको चौंथो मिनेटमा हाकिम जिएच र २३औँ मिनेटमा युसेफ नसरीले गोल गरे । क्यानडालाई उपहार गोल भने मोरक्कोका डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गर्दा मिलेको हो ।

पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो । क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० र दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले पराजित भयो ।
यसअघि १९८६ मा दोस्रोपटक विश्वकपमा सहभागी हुँदा मोरक्को नकआउट चरणमा पुगेको थियो । १९७० मा मोरक्कोले पहिलो पटक विश्वकप खेलेको थियो । मोरक्को सन् २०१८, १९९८ र १९९४ विश्वकपमा पनि समूह चरणबाटै बाहिरिएको थियो । प्रि-क्वाटरफाइनलमा मोरक्कोले समूह ईको उपविजेता रहेको स्पेनसँग खेल्नेछ । यस्तै समूह ई को विजेता जापानले क्रोएसियासँग खेल्नेछ ।




