रत्ननगर, १३ मंसिर ।
पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा रत्नप्रिय कप खुला नकआउट फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ । `स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´ भन्ने मुल नाराका साथ रत्ननगर-९ मा रहेको रत्नप्रिय क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक समारोहकाबीच रत्ननगर नगरपालिकाका उपप्रमुख यावद पाठकले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले रत्ननगरमा खेलकुद विकासका लागि नगरले विशेष प्रथामिकताका साथ काम गरेको स्पष्ट पारे । उनले रत्ननगरमा छिट्टै नै मिनि रगंशाला निर्माणमा आफूहरु अगाडी बढेको जानकारी गराए । उपप्रमुख पाठकले टिकौली चौरलाई खेलकुद व्यवस्थापनका लागि प्रयोगमा ल्याउने प्रतिवद्धता जनाए ।
स्थापनाको छोटो समयमा नै खेलकुद क्षेत्रको विकाससँगै टिकौली चौरको दिगो संरक्षणका लागि फुटबल प्रतियोगिता उपयोगी बनेको क्बलका अध्यक्ष वसन्त रानाले बताए । उनले टिकौली चौरलाई रंगशाला बनाउन सबै एकजुट हुनुपर्नेमा पनि जोड दिए ।
प्रतियोगिताको पहिलो दिन अठ्ठाइस विघा फुटबल क्बल नवलपरासी विजयी भएको छ । अठ्ठाइस विघा फुटबल क्बल नवलपरासी र मनहरि फुटबल क्लब मकवानपुरबीच भएको खेलमा ० का विरुद्ध ४ गोल गर्दै अठ्ठाइस विघा फुटबल क्बल नवलपरासी विजयी भएको थियो ।
प्रतियोगितामा अठ्ठाइस विघाकै मानबहादुर पाठक म्यान अफ द म्याच घोषित भएका थिए । क्लबका सचिव विजय लामाले स्वागत मन्तव्य व्यक्त गरेको प्रतियोगितामा ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी रविनबाबु रेग्मी र रत्ननगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष अनन्त अधिकारी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की, रनपा वडा १० का वडाअध्यक्ष कलाधर पौडेललगायतले बोलेका थिए । मंसिर १२ गतेदेखि २५ गतेसम्म हुने फुटबल प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।
प्रथम हुने समूहलाई १ लाख १ हजार ११ रुपैयाँ, द्वितीय हुने समूहलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरेको रत्नप्रिय क्बलका उपाध्यक्ष रामु पौडेलले जानकारी दिए ।
यस्तै, हरेक दिन उत्कृष्ट खेलाडीहरुलाई रु ५ हजारका दरले सम्मान गरिने उनको भनाई छ । नेपाली फुटवललाई व्यवसायीकरण गर्नेुका साथै खेलाडी पहिचानको लागि फुटवल प्रतियोगिता आयोजना गरिएको उनले बताए ।





