भरतपुर, १२ मंसिर ।
बेथितिपूर्ण प्रवेश परीक्षा सञ्चालन गर्न लागेको भन्दै कृषि तथा वन विश्वविद्यालयको मुख्यालय रामपुरमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् । गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक र त्रुटिपूर्ण रहेको भन्दै चार विद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन् ।
अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैँटौँ) ले विभिन्न पाँच बुँदामा असहमति जनाउँदै विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेका हुन् ।
नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइने छ’ भनी सूचना जारी गरेकोमा ती संगठनहरूको आपत्ति छ । “नयाँ पाठ्यक्रम कुन हो, कस्तो बनेको थाहा छैन”, सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले भने– “विद्यार्थी अलमलाउने गरी नयाँ पाठ्यक्रममा पढाउने भनिएको छ ।”
प्रवेश परीक्षामा सहभागी हुन तोकिएको न्यूनतम शैक्षिक योग्यतामध्ये कुल प्राप्ताङ्कमा पनि संगठनहरूको आपत्ति छ । प्रमाणपत्र तहमा पहिले राखिएको ५० प्रतिशत प्राप्ताङ्कलाई अहिले घटाएर ४५ प्रतिशत कायम गरिएको छ । “यो निजी कलेजमा विद्यार्थी बढाउन रचिएको षडयन्त्र हो”, नेविसंघ केन्द्रीय क्याम्पस समिति सभापति मिराज पौडेलले भने– “विश्वविद्यालयका पदाधिकारीका निजी कलेज छन्, त्यसमा विद्यार्थी पुगेका छैनन्, धेरै उत्तीर्ण गराएर विद्यार्थी पुर्याउन खोजिएको हो ।”
त्यस्तै विद्यार्थी बढाउने प्रपञ्चअनुसारै स्नातक तहमा कृषि अध्ययन गर्न आवश्यक पर्ने विषयहरूको बाध्यात्मक अवस्था पनि हटाइएको उनीहरूको आरोप छ । प्रवेश परीक्षाका लागि जारी सूचनाको बुँदा नम्बर १७ मा उनीहरूले आपत्ति जनाएका छन् । “कृषि पढ्न आवश्यक पर्ने अङ्ग्रेजी, केमिस्ट्री, बायोलोजी, गणित र फिजिक्स विषय अध्ययन नगरेका विद्यार्थी पनि भर्ना हुन पाउने व्यवस्था गरिएको छ”, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष लेगान्स घिमिरेले भने– “यस्तो व्यवस्थाले कृषि पढाइको गुणस्तर कता पुग्छ, नतिजा कस्तो निस्किएला ?”
प्रवेश परीक्षाका लागि लिइने शुल्कमा पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रवेश परीक्षाका लागि उठाउने गरिएको प्रतिविद्यार्थी ४ हजार शुल्क ज्यादै चर्को र अवैज्ञानिक भएको भनिएको छ । प्रत्येक संकायका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र सबैमा छुट्टाछुट्टै शुल्क लिइनु विद्यार्थीका लागि अन्यायपूर्ण भएको उनीहरूले जनाएका छन् । त्यसको समाधानका लागि ‘साझा प्रवेश परीक्षा’को माग उनीहरूले गरेका छन् । “साझा प्रवेश परीक्षा गर्दा विद्यार्थीलाई आर्थिक भार कम हुन्छ”, नेविसंघ केन्द्रीय क्याम्पस समिति सभापति मिराज पौडेलले भने– “यसतर्फ विश्वविद्यालयले ध्यान दिओस् ।”
विद्यार्थी संगठनहरूले प्रवेश परीक्षा रोक्न माग गरेका छन् । अन्यौलपूर्ण र अवैज्ञानिक प्रवेश परीक्षाले कृषि विश्वविद्यालयको गुणस्तर र गरिमामा आँच पुगेको भन्दै उनीहरूले यस्ता गैरजिम्मेवारपूर्ण कदम रोक्न माग गरेका छन् ।
कृषि विश्वविद्यालयअन्तर्गत हाल कृषि, पशु, वन र माछा विज्ञान संकायका पढाइ हुन्छन् । त्यसका लागि देशभर ७ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेज छन् ।





