गैंडाकोट, १२ मंसिर ।
‘किसानको शान एकीकृत सहकारी सेवाको अभियान’ भन्ने अभिप्रायका साथ स्थानीय स्तरमा रहेका २४ वटा सहकारीलाई एकीकरण गरी सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन सफल किसान बचत तथा ऋण सहकारी संस्था एकाई १ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको विजयनगर, हिमचुली, समृद्धि भरतपुर, सप्तरंगी, सौहाद्र्र, सहज, सप्तगण्डकी र नारायणगढ सेवा केन्द्र अन्तर्गत एकाई १ अन्तर्गतको साधारणसभा सम्पन्न भएको हो ।
यसै आर्थिक वर्षमा दिगंवत भएका यसै संस्थाका सञ्चालक समितिका सचिव अनिल सापकोटा र प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलप्रति श्रद्धाञ्जली दिएर सुरू गरिएको २७ औं साधारणसभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सहसचिव कँडेलले चालु आर्थिक वर्षमा संस्थाको नीति तथा कार्यक्रमहरुका बारेमा सभामा जानकारी गराइन् ।
गैंडाकोट ४ को एग्रोमार्ट परिसरमा सोमबार भएको साधारणसभामा संस्थाका सदस्य राजेन्द्र गौतमले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन एवं २०७९/८० को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गरे । सदस्य गौतमको प्रतिवेदनमा चालु आर्थिक वर्षको कूल सम्पत्ति ३ अर्व ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ रहेको जानकारी गराए । संस्थाले गत आर्थिक वर्षको सेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सय रुपैयाँलाई बढाएर चालु आर्थिक वर्षमा ४४ करोड ८० लाख र्पुयाउने लक्ष्य रहेको पनि गौतमले बताए । गौतमले संस्थाका अन्य वित्तीय प्रतिवेदनका वारेमा पनि जानकारी गराएका थिए ।
संस्थाका निर्वतमान अध्यक्ष एवं सञ्चालक सदस्य गोपालप्रसाद गौतमले बर्तमान संस्थागत अवस्था, निर्वाचन कार्यतालिकालगायत हाल देखिएको आर्थिक संकुचनका बारेमा प्रष्ट पारेका थिए । साधारणसभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणि कँडेलले प्रस्तुत गरे ।
साधारणसभामा आफ्ना भनाइहरु राख्दै किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यमार्फत करिब ४ अर्ब पूँजी परिचान गर्न सफल भएको बताए । चालिसेले सहकारीको वर्तमान अवस्थाका बारेमा पनि आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा संस्थाका ८ वटा सेवा केन्द्रका उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट महिला समूहलाई पुरस्कार वितरणसँगै सम्मान गरिएको थियो । किसान साकोसले एकाई नम्बर २ को मंसिर १६ गते डण्डा बजारमा र १७ गते एकाई नम्बर ३ को देवचुली–१७, फारममा साधारणसभा गर्ने जनाएको छ ।
संस्थाका ७ वटा संयोजकहरुको सहअध्यक्षतामा भएको साधारणसभा संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा भएको थियो । २७ औं साधारणसभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सहसचिव सरस्वती कँडेलले गरेकी थिइन् ।
एकाइ नम्बर १ को साधरणसभामा ८ वटा विविध प्रस्ताव उपर छलफल गरी उक्त प्रस्ताव सर्वसम्मत पारित गर्दै एकाइ नम्बर १ को माइन्यूट प्रमाणितका लागि २० जना प्रतिनिधि र २४ गते सम्पन्न हुने माइन्यूट प्रमाणित कार्यक्रममा १९ जना प्रतिनिधिको नामावली संकलन गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।





