भरतपुर, १२ मंसिर ।
नारायणी नदी किनारमा फोहोर पुरिरहेको फोटो भाइरल भइरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर ४ को लंकु भगवती टोल विकास संस्थाले भने फोहोर विस्थापन गर्न शिवलिङ्ग स्थापना गरेको छ । भरतपुर ब्यारेक पछाडि बसोबास गर्ने टोलवासीहरुले सोमबार बिहान पण्डित बोलाएर विधिपूर्वक पूजाआजा गरी नहर छेउमा शिवलिङ्ग स्थापना गरेका हुन् ।
भरतपुर ४, त्रिचोकबाट ब्यारेक पछाडिको बाटोहुँदै बेलचोक निस्कने क्रममा नारायणी लिफ्ट सिँचाईको नहरमाथि बनाइएको कल्भर्टको दायाँबायाँ रातिको समयमा अज्ञात व्यक्तिहरुले फोहोर फाल्दै आएका थिए । अहिले शिवलिङ्ग स्थापना गरिएको ठाउँ कल्भर्टको मुखनिर नहरछेउमा छ । यसको ठीक अगाडि बाटोपारि बटुवाले पिसाब फेर्न थालेपछि दुर्गन्ध बढेको थियो ।
लंकु भगवती टोल विकास संस्था र लंकु भगवती महिला समूहको आह्वानमा शिवलिङ्ग स्थापना र बिसौनी निर्माणको काम भइरहेको टोलवासी कलाकार प्रकाश थापाले जानकारी दिए । भुइँ ढलान गरेर सानो स्तम्भ उठाई त्यसैमाथि शिवलिङ्ग र गणेशको मूर्ति स्थापना गरिएको उनले बताए । शिवलिङ्ग अगाडि राख्न सानो बसाहको मूर्ति आफूले निर्माण गर्न लागेको कलाकार थापाले जानकारी दिए ।
टोल विकास संस्थाका अध्यक्ष सूर्य सापकोटाका अनुसार शिवलिङ्ग स्थापनाको काम सकिएपनि बिसौनी निर्माणको काम भइरहेको छ । नहर छेउको ठाउँ भएकोले जालीसहितको रेलिङ र बटुवाहरुले थकाइ मार्न मिल्ने हिसाबले बस्ने ठाउँ समेत निर्माण गरिने सापकोटाले जानकारी दिए । रातिको समयमा आएर फोहोर फाल्ने गरेको थाहा पाएपछि गस्ती गर्दासमेत फोहोर नियन्त्रण गर्न नसकेपछि नयाँ उपाय लगाइएको उनले बताए । यसले फोहोर नियन्त्रणसँगै टोलको सौन्दर्यकरण हुने उनको भनाइ छ ।
लंकु भगवती महिला समूहकी अध्यक्ष सिर्जना पोखरेलले शिवलिङ्ग स्थापना गरिएको ठाउँमा हरेक सोमबार पूजाआजा गरिने बताइन् । यति गरिसकेपछि अब यस ठाउँमा फोहोर फाल्ने काम बन्द हुने उनले विश्वास व्यक्त गरिन् । टोल विकास संस्था र महिला समूह मिलेर नहर नजिकैको चौतारीमा सरसफाई एवं रंगरोगनको काम, कल्भर्टको रेलिङमा रंग लगाउने कामपछि बिसौनी निर्माणको काम थालिएको उनले जानकारी दिइन् ।
बाटो वरपर सरसफाई, चौतारी र रेलिङमा रंगरोगन, शिवलिङ्ग स्थापना र बिसौनी निर्माणमा वडा, महानगर कतैबाट पनि कुनै सहयोग नलिइकन टोल र स्थानीयवासीको श्रमदान एवं चन्दा सहयोगबाट काम भइरहेको अध्यक्ष सापकोटाले बताए । उनले दाताहरुबाट सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म नगद, केही दाताबाट घण्टीलगायत जिन्सी सामग्री पनि प्राप्त भएको र हालसम्म निर्माण कार्य सम्पन्न नभइसकेकोले खर्चको पूरै विवरण आइनसकेको जानकारी दिए ।
सोमबार बिहान भएको शिवलिङ्ग प्राणप्रतिष्ठा कार्यक्रममा भरतपुर ४ का वडाध्यक्ष अर्पण पोखरेल पनि सहभागी थिए । टोल विकास संस्थाको कामबारे उनले भने, ‘जुन काम भैरहेको छ त्यो अत्यन्त सह्रानीय छ । महानगरभित्र वडा अन्तर्गतका जहाँ जहाँ यसै खेर गैरहेका सार्वजनिक जमिनहरु छन् ती सबै ठाउँहरुमा केही न केही बनाउन सकियो भने सार्वजनिक जमिन संरक्षण त हुने नै भयो, सँगसँगै स्थानीय ठाउँ सफा र सुन्दर पनि हुने छन् ।’
टोलवासी उद्योगी लक्ष्मण अर्यालले नहरछेउमा फोहोर फालिने समस्याले दुर्गन्ध फैलिन थालेको र त्यसको नियन्त्रणका लागि भइरहेको शिवलिङ्गसहित बिसौनी निर्माणको काम हेर्दा सानो भए पनि निकै महत्वपूर्ण रहेको बताए । जथाभावी फोहर फाल्ने काम बन्द हुनुपर्ने भन्दै अर्यालले फोहोर फालिने ठाउँमा यसरी नै सबै टोल विकास संस्थाले पार्क, बिसौनी बनाउने हो भने सहरको सौन्दर्यमा समेत वृद्धि हुने बताए । जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक एवं मनकामना ग्रुप अफ कम्पनीका अध्यक्ष अर्यालले यस्ता सामाजिक काममा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।





