भरतपुर, ११ मंसिर ।
चितवन महोत्सवका तयारी भइरहँदा महोत्सव स्थल नारायणी नदी किनारका खाल्टा भने वातावरणलाई असर पुग्ने गर प्लाष्टिकजन्य फोहरहरू पुरेर सम्याइएको भन्दै युवाहरूले विरोध जनाएका छन् ।
नारायणी नदीले बर्खामा भत्काएको र खाल्डो बनाएको ठाँउलाई चितवन महोत्सव सञ्चालनार्थ चितवन महोत्सव अयोजकले प्लाष्टिजन्य फोहर पुरेर सम्याइरहेको तस्बीर बाहिरिएपछि युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । नारायणी नदी किनारमा आइतबार साँझ पुगेर पम्पलेट प्रदर्शन गर्दै बर्षाको समयमा उच्च बाढीको जेखिम हुने नदी क्षेत्रमा प्लास्टिकजन्य फोहोर पुर्नु अपराध भएको भन्दै विरोध जनाएका थिए ।
‘वातावरण बिगारेर हामीलाई महोत्सवमा रमाउनु छैन, प्लाष्टीकजन्य फोहोर जलप्राणीको लागि खतरा हो’, ‘प्लाष्टीक फोहोर होइन मोहोर हो भन्ने अनि नदी किनारमा ल्याएर पुर्ने? सुहाएन नि?’ लगायतका नारा सहित पम्पलेट बोकेर युवाहरूले प्रर्दशन गरेका थिए । विरोध प्रर्दशन गर्दै बेटर चितवनका संस्थापक अध्यक्ष समेत रहेका युवा अभियन्ता ई. सागर कार्कीले देवी मानेर पुज्ने नदीलाई अपवित्र बनाउने पाप टाउकोमा बोकेर महोत्सवमा रमाउन नसकिने बताए ।
खर्च जोगाउन अर्को पुस्तालाई विर्सिएर प्लास्टिकजन्य फोहोर नदीमा थुपार्नु निकै स्वार्थपूर्ण कार्य भएको र यसले पर्यावरण, नदी र जलप्राणीलाई ठूलो असर गर्ने उनको भनाइ छ । ‘हामीले एकछिनको मनोरञ्जनका लागि नारायणी नदी जलप्राणीको पनि घर हो भन्ने बिर्सिएका छौँ । यसको समाधान ननिकालेसम्म हामी आवाज उठाइरहनेछौं ।’ उनले महोत्सव आयेजक समितिलाई चेतावनी दिँदै भने ।
अर्का अभियन्ता सचिन चापागाईँले फोहोर व्यवस्थापनका नाममा महानगरले नदी किनारमै महोत्सवस्थल निर्माण गर्न फोहोर पुर्ने स्विकृती दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘स्रोतमै फोहोर न्यूनीकरणका लागि महानगरले एक किलो प्लाष्टीक दिदा एउटा साबुन दिने स्कीम अस्ति भर्खरै ल्याएको छ, तर अहिले यसरी महानगरकै स्वीकृतिमा नदी किनारमा प्लाष्टिकजन्य फोहोर पुरेर महोत्सवस्थल निर्माण गरिएको छ जुन लज्जास्पद छ”, उनले भने ।
अहिले महानगरपालिकाको ट्रयाक्टरले नारायणी नदी किनारमा फोहोर फाल्दै गरेको तस्वीर अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।
चितवन महोत्सव पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनारमा हुन गइरहेको छ ।





