कालिका, १० मंसिर ।
कालिका नगरपालिका- १ मा रहेको उर्गेनलिङ छ्योइखाङ बौद्ध गोन्पो (गुम्बा)ले तीन वटा बुद्धको मूर्ति (त्रिरत्न)लाई प्राणप्रतिष्ठा गर्न शनिबारदेखि तीन दिने महाप्रज्ञापारमिता (बुम पाठ) सुरू गरेको छ । २०७० सालमा स्थापना भएको गुम्बामा त्रिरत्न स्थापना गरेपछि त्यसलाई प्राणप्रतिष्ठा गर्न १८ जना धर्मगुरूबाट बुम पाठ सुरू गरिएको गुम्बाका प्रमुख लामा लामाडावाङ ल्हालुङ पाल्दोरले जानकारी दिए ।
बुम पाठ कार्यक्रममा १६ ठेली ग्रन्थ पाठ गर्न दक्षिण भारत कर्नाटक (महेशुर) नामड्रोमलिङ मोनष्ट्रिबाट टुल्कु धावा नोर्बु रिन्पोछे, आचार्य साङ्गे मिंङ्ग्युर, आचार्य ज्याम्पाल ग्याछोलगायतका धर्मगुरू चितवन आएका छन् ।
स्वर्गीय सुनबहादुर लामाको परिवारबाट गुम्बा स्थापनाको लागि डेढ कठ्ठा जग्गा प्राप्त भएपछि यहाँका स्थानीयले गुम्बा स्थापनाको लागि जोडबल गरेका थिए । सोही क्रममा चन्दा, सहयोग र जनश्रमको माध्यमबाट गुम्बा स्थापना भएपछि त्यसमा आवश्यक मूर्ति र सरसामानको जोहो गरी विधिवतरूपमा मान्यता दिलाउनको लागि मूर्तिमा प्राणप्रतिष्ठा गर्न लागिएको गुम्बाका अध्यक्ष सुन लामाले जानकारी दिए ।
स्वर्गीय लामाले लङ्कालाइन क्षेत्रमा बौद्धमार्गीहरूका लागि गुम्बाको आवश्यकता महसुस गरेर आफ्नै घरभित्र सानो गुम्बा निर्माण गरी नियमित पूजापाठ गर्दै आएका थिए । उनको निधनपछि उनकी श्रीमती मोतीमाया लामाले डेढ कठ्ठा जग्गासहित करिब दुई लाख ५० हजार रूपैयाँ रकमसमेत दान दिएपछि गुम्बाको स्थापना गर्न सम्भव भएको उनले बताए ।
गुम्बाको स्थापनाकालदेखि हालसम्म तत्कालीन जुटपानी गाउँ विकास समितिबाट कालिका नगरपालिका हुँदासम्ममा सरकारी बजेट करिब तीन लाख रूपैयाँ आए पनि त्यसबाहेकका सबै खर्च गाउँलेबाट संकलन गर्नुका साथै नजश्रमबाट पूर्ति गर्दै आएको गुम्बा समितिले जनाएको छ । यसपटक विभिन्न दाताको सहयोगमा मूर्ति खरिद गर्न सफल भएपछि त्यसलाई जीवित तुल्याउनको लागि विधिवतरूपमा पूजापाठ गरी प्राणप्रतिष्ठा गर्न लागेको गुम्बाका सचिव वीरबहादुर तामाङले जानकारी दिए ।
धर्म, संस्कृति संरक्षण तथा त्यसको जगेर्ना गर्ने उद्देश्यले पनि यो गुम्बाको स्थापना गरिएको उनले बताए । यसपटक मूर्ति खरिदमा करिब चार लाख र प्राणप्रतिष्ठा कार्यक्रममा करिब साढे चार लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अब गुम्बाको बाहिरी संरचना निर्माण गरेर भावी दिनमा यसलाई बौद्ध शिक्षालयको रूपमा विकास गर्ने योजना रहेको उनले बताए । ‘हामीलाई बौद्ध शिक्षा प्राप्तीको लागि बाहिर जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसैले भोलिका दिनमा यहीँ बौद्ध शिक्षा आर्जन गर्ने वातावरण सिर्जना भयो भने हाम्रा भावी पुस्ता बाहिर जानुपर्दैन ।’
त्यसबाहेक हरेक वर्ष ङ्युङने लगाउने योजना रहेको समेत उनले बताए । तर, बजेट अभावका कारण सोचेअनुसारको काम गर्न नसकेको उनले बताए । कालिका १ मा मात्रै करिब तीन सय घरधुरी तामाङ समुदाय रहेका उनले बताए ।





