भरतपुर, १० मंसिर ।
विश्वकप फुटबल अन्तर्गत आज शनिबार ४ खेल हुँदैछन् । यी मध्ये चर्चामा रहेको खेल अर्जेन्टिना र मेक्सिकोबीचको हो । अर्जेन्टिनाले विश्वकप फुटबलको समूह ‘सी’ को खेलमा मेक्सिकोसँग खेल्दैछ । पहिलो खेलमा नै अप्रत्यासित हार ब्यहोरेको अर्जेन्टिनाको लागि मेक्सिकोविरुद्धको खेल जित्नै पर्ने दबाबमा छ ।
अर्जेन्टिना र मेक्सिकोबीचको खेल कतारको लुजेल रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । आफ्नो पहिलो खेलमा साउदीसँग २–१ गोलको लज्जास्पद हार ब्यहोरेको अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायमै राख्नका लागि यो खेल जित्नै पर्ने हुन्छ । यदी पराजित भए अर्जेन्टिना विश्वकपबाटै बाहिरिने छ ।
विश्व चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा रहेको छ । विश्वकप सुरु हुनुअघिदेखि अर्जेन्टिनाले विश्वकप जित्छ भन्ने धेरैको अनुमान थियो । तर मेक्सिकोसँग पराजित भए लगातार दुई खेलमा हारसँगै विश्वकपको समूह चरणबाटै अर्जेन्टिना बाहिरिनेछ । मेक्सिकोसँग बराबरी खेलेको अवस्थामा भने विश्वकपको नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको सम्भावना कायमै रहनेछ ।
यता, मेक्सिकोले आफ्नो पहिलो खेलमा पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । पोल्यान्ड पनि साउदीअरब विरुद्ध जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।





