भरतपुर, ४ मंसिर ।
आज हुने मतदानक्रममा एक जना मतदाताले चारवटा मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ । प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) र समानुपातिक गरी दुई र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका गरी चार प्रकारका मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ ।
आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङको चुनाव चिह्न अङ्कित मतपत्र रहनेछ । प्रतिनिधि सभाको समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो रङको मतपत्र छापिएको छ । प्रदेश सभाको प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो चुनाव चिह्न र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो रङले अङ्कित चुनाव चिह्न भएको मतपत्र छापिएका छन् ।
मतदानका लागि प्रत्यक्षतर्फ तीन करोड ९८ लाख १६ हजार पाँच सय र समानुपातिकतर्फ चार करोड छ लाख पाँच हजार मतपत्र गरी कुल आठ करोड चार लाख २१ हजार पाँच सय मतपत्र छापिएका छन् ।
अस्थायी मतदाताले भने प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । त्यस्ता मतदाताको सङ्ख्या चार लाख ५० हजार रहेको छ । अस्थायी मतदाताका लागि १४१ वटा केन्द्र तोकिएका छन् ।




