बुटवल, ३ मंसिर ।
रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।
शुक्रबार साँझ तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु१क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले ठक्कर दिँदा मोटरसाइकल चालक कंडेलको निधन भएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका-१ रानी बगिया निवासी ३५ वर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।
सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । विगत ढेड दशकदेखि पत्रकारितामा आवद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रूपमा कार्यरत थिए ।





