भरतपुर, २९ कात्तिक ।
विश्वको जनसंख्या ८ अर्ब नाघेको छ। संयुक्त राष्ट्रसंघको प्रक्षेपण अनुसार विश्वको जनसंख्या ८ अर्ब नाघेको हो ।
सन् १९९८ मा विश्वको जनसंख्या ६ अर्ब थियो । त्यसपछि सन् २०१० मा संख्या बढेर ७ अर्ब र त्यसको १२ वर्षपछि थप अर्ब जनसंख्या बढ्यो । पछिल्लो २४ वर्षमा विश्वको जनसंख्या २ अर्ब बढेको तथ्यांक छ ।
मानिसको जनसंख्यासम्बन्धी पुराना तथ्यांक केलाउँदा सन् १००० मा पृथ्वीको जनसंख्या २७ करोड ५० लाख थियो । त्यसपछि ८०४ वर्षको अवधि अर्थात् सन् १८०४ मा पृथ्वीको जनसंख्या एक अर्ब पुगेको थियो । त्यति बेला ७० करोड जनसंख्या वृद्धि हुन झन्डै ८०४ वर्ष लागेको थियो । तर, पछिल्लो १२ वर्षमै एक अर्ब नाघेको तथ्यांक छ ।
यस्तै, सन् १९३० मा २ अर्ब रहेको विश्वको जनसंख्या ३० वर्षपछि सन् १९६० मा ३ अर्ब पुग्यो । त्यसको २७ वर्षपछि सन् १९८७ मा पृथ्वीको जनसंख्या पाँच अर्ब नाघ्यो । त्यसपछिका हरेक दशकमा करिब एक अर्बका दरले जनसंख्या बढिरहेको राष्ट्रसंघको तथ्यांक छ । पृथ्वीको जनसंख्या सन् १९९८ मा ६ अर्ब, सन् २०१० मा ७ अर्ब र सन् २०२२ मा विश्वको जनसंख्या ८ अर्ब नाघेको हो ।
एसियाको पूर्वी र दक्षिणपूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब र चीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको छ ।
औद्योगिक क्रान्तिसँगै स्वास्थ्य सेवामा आएको सुधार, स्वास्थ्य सेवामा पहुँच, घट्दो शिशु मृत्युदरजस्ता कारणले पृथ्वीको जनसंख्या बढिरहेको राष्ट्रसंघले जनाएको छ ।
सन् २०३० सम्ममा पृथ्वीको जनसंख्या साढे ८ अर्ब पुग्ने राष्ट्रसंघको प्रक्षेपण छ । तर, सन् १९५० पछि पहिलो पटक सन् २०२० मा जनसंख्याको वृद्धिदरमा एक प्रतिशतले गिरावट आएको थियो ।
राष्ट्रसंघको प्रतिवेदनअनुसार सन् २०५० सम्ममा वृद्धि हुने आधा जनसंख्या केबल आठ देशको मात्रै हुने छ । जसमा पाकिस्तान, भारत, ग्रिस, कंगो, नाइजेरिया, तान्जानिया र इथियोपिया हुने छन् ।
यस्तै, धेरै देशमा जनसंख्या वृद्धिदर निकै न्यून हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ। यस अवधिमा युरोपका अधिकांश देशको जनसंख्या उल्लेख्य मात्रामा घट्ने भनिएको छ ।
विश्वमै सबैभन्दा बढी जनसंख्या भएका प्रमुख १० देशहरू क्रमशः चीन, भारत, अमेरिका, इन्डोनेसिया, पाकिस्तान, नाइजेरिया, ब्राजिल, बंगलादेश, रुस, मेक्सिको हुन् ।
सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्ने राष्ट्रसंघको अनुमान छ ।




