चितवनको उपन्यासयात्रामा ‘टुकी’को योगदान

यतिबेलाको नेपाली उपन्यासले बिल्कुल नयाँ विषयवस्तुमा आफ्नो यात्रा तय गरिरहेको छ । यसका लागि थारु समुदायको कथा पनि प्रमुख विषय बनेको छ । यस्तै थारु जातिको जीवन भोगाइलाई विषय बनाई तयार पारिएको मनोज थारु ‘अज्ञात’को पहिलो उपन्यास ‘टुकी’ले चितवनका रैथाने थारुहरुको विगतको कथा बताएको छ । आफू स्वयम् थारु समुदायका लेखक भएकाले उनको यो ‘टुकी’ उपन्यासमा थारु समुदायप्रति न्याय गरिएको पाइन्छ । यतिबेला उनको दोस्रो उपन्यास ‘टुवरा’ले बजार तताएको छ ।

उठान
नेपाली साहित्यमा चितवनको उपस्थिति यतिबेला सशक्त बन्दै गइरहेको छ । उपन्यासका क्षेत्रमा केही पछाडि रहेको यो यात्रालाई अगाडि बढाउन चितवनका उपन्यासकार मनोज थारु ‘अज्ञात’ कम्मर कसेर लागिपरेका छन् । उनको हालसम्म ‘टुकी’ उपन्यास (२०७५) र ‘टुवरा’ उपन्यास (२०७९) प्रकाशित भइसकेको छन् ।

उपन्यासकार मनोज ‘अज्ञात’ जन्मले थारु हुन्, त्यसैले उनले आफ्नो ‘टुकी’ उपन्यासको लेखनमा आफ्नै थारु समुदायको कथालाई चयन गरेका छन् । यसमा चितवनका थारुहरुको भोगाइलाई मार्मिक रुपमा उतारिएको छ । उनको ‘टुकी’ उपन्यास २०७५ साल असारमा नेपाली बुक्स काठमाडौँले प्रकाशन गरेको हो । यसले ११९ पृष्ठको ठिक्कको आयाम बोकेको छ ।

संरचनाका हिसाबले ‘टुकी’ उपन्यासमा खण्ड योजना गरिएको छैन । तर पनि यसमा परिच्छेदको सङ्ख्या वा नाम नदिईकन २४ वटा विना अङ्क र शीर्षकका परिच्छेदहरु बनाइएका छन् । यसभित्र घटीमा २ पृष्ठदेखि बढीमा १८ पृष्ठसम्मका त्यस्ता परिच्छेदहरु रहेका छन् । यसप्रकार संरचनाका दृष्टिले हेर्दा ‘टुकी’ उपन्यास पुरातन खालको देखिन्छ । लेखकको पहिलो उपन्यास भएकाले पनि त्यसो भएको हुन सक्छ । जेहोस्, चितवन र त्यसमा पनि थारुका बारेमा बुझ्न चाहने पाठकका लागि यो उपन्यास निकै उपयोगी हुन सक्छ ।

‘टुकी’ उपन्यासको आख्यानसन्दर्भ
नेपाली उपन्यासका क्षेत्रमा हिजोआज प्रेम, विवाह, द्वन्द्वलाई छाडेर महिला, जनजाति, दलित र पिछडिएका वर्गका कथा लेख्ने प्रचलन बढ्दै जान थालेको छ । यही क्रममा भूमिपुत्रका रुपमा परिचित तथा सदा खेतमा काम गर्न रमाउने चितवनका आदिवासी थारुका कथालाई लिएर तयार पारिएको उपन्यासकार मनोज अज्ञातको ‘टुकी’ उपन्यासमा रहेको कथानक यसप्रकार रहेको छ :

चितवनकी उमेर पुगेकी बुढी आमोई अर्थात् विक्रमिया चौधरी बाटो काट्ने क्रममा काठमाडौँका हरि नाम गरेका पुरुषको मोटर साइकलमा ठोक्किन पुग्छिन् । उक्त दुर्घटनामा उनीहरु दुबै घाइते हुन्छन् । उनीहरुलाई अस्पतालमा लगेर उपचार गराइन्छ । डिस्चार्ज गरेपछि उक्त आमोईले आफ्नो बारेमा केही नबताएपछि हरिले आफ्नो घरमा लगेर बाँकी उपचार गराउँछन् । उपचारका क्रममा ठिक हुँदै गएपछि उनले आफ्नो विगत बताउँछिन् । आफूले बाल्यकाल, युवावस्था र बुढ्यौली बिताएको चितवनको शुक्रनगर आसपासको क्षेत्रमा भोगेका भोगाइलाई उनले बताएकी छिन् । बयानका क्रममा उनले देखेका, भोगेका र अनुभव गरेका थारु संस्कृति, चाडपर्व, जीवनशैली आदिको चित्रण गरेकी छिन् । गरिबीका कारण उनीहरुले पाएका दुःखको वर्णन यसमा छ । अरुका घरमा कामदार भएर बिताएको जीवन, बाबुले एउटासँग विवाह गरिदिन चाहेको भए पनि आफू काम गर्न बसेकै घरमा उनको विवाह भएको र त्यसपछि केही समय सुखपूर्वक बाँचेको भए पनि सोझो भएका कारण फेरि दुःख पाएको चित्रण पनि यसमा गरिएको छ । उनले जीवनमा दुःख बाहेक केही नपाएको चित्रण यो उपन्यासमा छ । अझ बुढेसकालमा त झन् उनी जीवनबाट दिक्क भएको देखिन्छ । यसरी एउटी वयोवृद्ध थारु महिलाले जीवनकालमा भोगेका विविध भोगाइको चित्रण नै ‘टुकी’ उपन्यासको कथावस्तु हो । हेरौँ केही साक्ष्य :

१) घरमा बाआमापछि ठूलो म नै थिएँ । बाआमा दिनभरि जिम्दारकाँ काममा जान्थे । भाइबहिनीको हेरचाह मैले नै गर्नुपर्थ्यो । (टुकी, पृ. १६)
२) बा सबै सामान मिलाएर लडियामा हाल्दै थिए । कुखुरा र चल्लाहरु समातेर थान्को लगाउने जिम्मा मेरो परेको थियो । (टुकी, पृ. ५१)
३) राम्रो लाउन र मीठो खान अछेट लाग्ने हाम्रो घरमा खाना त्यही सखरखण्ड मीठो खाना भयो । (टुकी, पृ. ११६)
४) खाना खाएपछि दुलाहाका साथीहरुले दुलाहालाई भन्दै थिए – ‘जे गरिस् राम्रो गरिस् । सबैले बिथ्थामा तिम्हर्लाई शङ्का मात्रै गर्थे, ल्याइस् राम्रो गरिस् । यसै भएन उसै भएन ….. है । सबैको मुख टालियो ।’ (टुकी, पृ. १२६)
५) ढिकी चलाउँदा मेरो खुट्टामा कुल्चिदिइन् सौताले, औँला फुटेर रगत बग्न थाल्यो । खुट्टा हटाएर सुम्सुम्याएँ । (टुकी, पृ. १३७)
६) अस्ति भर्खरसम्म छोराछोरीहरु सानै लाग्थे, सबै ठूल्ठूला भइसकेका थिए । मेरी सौताकी टुहुरी छोरीको पनि बिहे भइसकेको थियो । (टुकी, पृ. १८६)

७) शरीर कमजोर भएपछि अनेक हुँदो रहेछ, त्यसमाथि छोराछोरीले यो गर्दिएनन्, त्यो गर्दिएनन् भनेर कचकच गर्छन् । (टुकी, पृ. १८५)
८) मनमा भन्यो – ‘होइन यो ओखती भन्दा बरु विष बेस, सधैँका लागि पीडा मेटाइ दिन्छ ।’ दिमाग एकोहोरियो । आँखा धमिलो भयो । तरकारीका बिरुवामा छर्नका लागि एक सिसी विषादी राखिएको थियो दलिनमा । बिर्को खोलेर स्वाट्ट पारेँ र रन्थनिँदै गएँ भान्सा पछाडि गोवरग्याँसको फराकिलो ढलानमा घोप्टिएँ । (टुकी, पृ. १९३)

यी माथिका केही महत्वपूर्ण घटनाहरु हुन् आमोइ अर्थात् विक्रमिया चौधरीका जीवनमा घटेका । उनले जीवनमा पाएका यावत् दुःखबाट मुक्तिका लागि विष सेवनसम्म गर्न पुगिन् । यिनै घननाको फेहरिस्त बनेको छ ‘टुकी’ उपन्यास ।

‘टुकी’ उपन्यासको पात्रविधान
उपन्यासकार मनोज अज्ञातको ‘टुकी’ उपन्यास सानो भएर पनि यसमा पात्रको ओइरो छ । यसमा थारु पात्र धेरै छन् भने अन्य जातका व्यक्तिको पनि उपस्थिति छ । यसको मुख्य भूमिकामा आमोइ अर्थात् विक्रमिया चौधरी र हरि रहेका छन् भने प्रहरी, अस्पतालका नर्सहरु, अन्य बिरामीहरु पनि देखिएका छन् । कथामा मुख्य भूमिकामा देखिने आमोइ अर्थात् विक्रमिया चौधरी र हरिको चिनारी यस प्रकार छ :

आमोइ अर्थात् विक्रमिया चौधरी
‘टुकी’ उपन्यासको मुख्य पात्र हुन् आमोइ अर्थात् विक्रमिया चौधरी । उनले आफ्नो जीवनकथा हरिलाई सुनाएकी छिन् । यसर्थ यस उपन्यासको कथावाचक पनि उनी स्वयं हुन् । चितवनको गरिब थारु परिवारमा जन्मिएर कहिले आफ्नो झुपडी र कहिले साहुको घरमा कामदारका रुपमा बसी जीवन गुजारेकी उनलाई कामदारका रुपमा बसेकै अवस्थामा सोही घरको कान्छो छोरोले बिहे गर्छ । सुरुमा दुःखबाट सुखतर्फ लागेको उनको जीवनमा सौताको प्रवेशपछि पुनः दुःखले प्रवेश गर्छ । दुःखमै सन्तान जन्माएर हुर्काएकी उनको बुढ्यौली पनि दुःखमै बित्छ । यसर्थ आमोइको जीवनलाई हेर्दा यो उपन्यास दुःखको पुलिन्दा बन्न पुगेको छ ।

हरि
‘टुकी’ उपन्यासको अर्को कथावाचक म पात्र अर्थात् हरि हो । उसले आमोइसँग ठोक्किएर मोटरसाइकल दुर्घटना गराउँछ । यसपछि उसले आफूसँगै आमोइको पनि उपचार गराउँछ । त्यति मात्र नभएर बेवारिसे अवस्थामा रहेकी आमोइलाई आफ्नो घरमा लगेर राख्छ । आमोइबाट उनको कहानी सुनिसकेपछि उनलाई परिवारको जिम्मामा लगाउने निर्णय गरेको छ । ऊ सम्पन्न परिवारको देखिन्छ । ऊ एउटा प्रेसको मालिक हो भन्ने कुरा उसलाई बीच बीचमा आएको फोन कलबाट पुष्टि हुन्छ ।
आमोइ र हरि बाहेक यो उपन्यासमा समय अनुसार विभिन्न पात्र देखा परेका छन् । यसरी देखापर्ने विक्रमियाको बुबा, आमा, जेठो भाइ, कान्छो भाइ, बहिनी, काका, छिमेकीहरु, छविलाल, सासुआमा, जेठाजु, जेठानी, सौता, उसको श्रीमान्, उसका जेठा र कान्छा छोराहरु, बुहारीहरु, नाति–नातिनीहरु, उसका साथीहरु फुलिया, शेनी, कलिया, बमिया, घोडे बुढा, चस्मे बुढा, घडी बुडा, गुरौ, जितिया नाचका साथीहरु, विवाहका जन्तीहरु आदिलाई लिन सकिन्छ । त्यस्तै गरी हरिकी श्रीमती, उसकी सानी छोरी आदिको उपस्थिति पनि उपन्यासमा पाइन्छ ।

‘टुकी’ उपन्यासको परिवेशविधान
‘टुकी’ उपन्यासले आजबाट सुरु गरेर आजभन्दा करिब ४०–४५ वर्ष अघिसम्मको चित्रण गरेको छ । यसमा आमै अर्थात् विक्रमिया चौधरीले आफ्नो जीवनकहानी बताएकी छिन् । उक्त वर्णनमा चितवनको माडी, शुक्रनगर, शोशी बजार, मेघौली बजारदेखि लिएर काठमाडौँको परिवेश पनि चित्रण गरिएको छ । यसमा पञ्चायतकाल र प्रजातन्त्र प्राप्तिको वर्णन पनि छ । हेरौँ प्रजातन्त्रमा भएको चुनावी माहोलको एउटा साक्ष्य :

दशैँ हो भनौँ दशैँ थिएन, तिहारमा घन्कने बाजा भनौँ तिहार थिएन, दशैँ र तिहारभन्दा कम रमाइलो थिएन । बाजागाजाका साथ गाउँगाउँमा मुफ्तभोज चलिरहेको थियो, सामूहिक भोज । उत्सव विनाको भोज, खाए पिए वापत् बस् यति भनिँदै थियो –‘नुन खाएपछि गुन गाउनुपर्छ है, भोट चैँ हाम्रै पाटीलाई हाल्नुपर्छ ।’ (टुकी, पृ. १७१)

त्यसपछिको चुनावको कुरा गरिएको छ । त्यपछिको एकाएक समय फेरिएको छ । यसरी समय फेरिँदा बीचको समय गायब छ । यति लामो समयको बयान गर्दा लेखकले देशमा २०५२ देखि २०६२ सालसम्म चलेको दश वर्षे जनयुद्धका बारेमा भने कतै कुरा उठाएका छैनन् । त्यसपछिको प्रविधियुक्त समाज फेरि देखा परेको छ उपन्यासको अन्त्यमा । यसरी समयलाई फड्को मार्दा उपन्यासलाई अपूरो बनाएको छ । बीचको त्यो समयका बारेमा कहीँ कतै केही सम्झना गरेको भए उपन्यास पूर्ण हुने थियो । जेहोस्, अन्य समय र स्थानको चित्रण भने राम्रो छ ।

‘टुकी’ उपन्यासको भाषाशैली
‘टुकी’ उपन्यास एक जना थारु लेखकले लेखेको र थारुका कथामा आधारित उपन्यास भएर पनि यसमा थारु भाषाका शब्दको प्रयोग ज्यादै न्यून मात्रामा गरिएको छ । उपन्यासका पात्रले बोल्ने संवादलाई आधार बनाई निम्न साक्ष्यका आधारमा समीक्षा गरिएको छ :

‘टुकी’ उपन्यासमा चितवनको शुक्रनगर आसपासमा बोलिने थारु भाषाको संवादको प्रयोग यसरी गरिएको छ :
‘सङ्वा ! सोहराइमा भैलो मांङे जाइके हौ । सोझुवा, ढेमना रोटीसभ खाए पएतऊ ।’ फुलियाले भन्थी ।
मैले मुन्टो हल्लाएर सहमति जनाइदिन्थेँ । ऊ खुसी हुन्थी र भन्थी – ‘घरबामा दिउलीबाती बारके हौँ । साँझा झिलिमिली देखार हखे चहतई । हमार घरबार उपरासे हेर्ले जऊ जम्मे गउँबाक घरबा सभमा दिऊली झिल्मीलाईकी देखार हसई । देखके गहनी माजा लगसई मोर त ! तोई फेनी ऐसी हौ देखे ।’ (टुकी, पृ. ७५)

माथिको संवादमा थारु युवतीले आफ्नो संस्कृति कसरी मनाउने भन्ने बारेमा आफ्नै भाषामा कुराकानी गरेका छन् । यसले त्यतिबेलाको समय र स्थानका बारेमा पनि प्रष्ट पारेको छ ।
यस उपन्यासमा गोठाला गएका थारु युवतीहरुले नेपाली भाषामा गरेको संवादको एउटा नमुना यस्तो छ :

‘ए शेनी ले त हेरम् आज के ल्याकी छेस् ?’
‘यल्ले त कोदोको रोटी ल्याछे । तैँले के ल्याकी छेस् त बमिया ?’
‘मैले त भात पोको पारेर ल्याछु ।’
‘तैँले नि कलिया ?’
‘त्यै हो चिउरा ।’
सबैले मलाई सोधे ।
‘मैले चैँ उसिनेको सखरखण्ड ।’ (टुकी, पृ. १०७)

माथिको संवादलाई हेर्दा पात्रको नाम बाहेक अरुमा थारु भाषाको प्रभाव कत्ति पनि छैन । अझ पहाडिया युवतीले बोलेको जस्तो देखिन्छ ।

यस उपन्यासमा दुई जना थारु पुरुषले गर्ने संवादमा थारु लवजको सामान्य प्रयोग भएको कुरालाई संवादमार्फत् यसरी देखाइएको छ :

चस्मेबूढा घडीबूढातिर हेर्दै फर्काउँदै बोले– ‘दाजु सुर्ती लेऊ त । मैले आज ल्याउनै भुलेछु ।’
‘हुँ अ..’ भन्दै लङ्गौटीको फेरोबाट झिक्दै– ‘ले रे ।’ भनेर दिए । (टुकी, पृ. ६८)

माथिको संवादमा थारुहरुले गरेको कुराकानी भएर पनि यसमा थारु लवज मात्रै आएको छ । थारु भाषाको प्रयोग पाइन्न । कथावाचिका आमै र उसका छोराहरु थारु जातिका भएर पनि उनीहरुले बोल्ने संवादमा त्यस्तो देखिन्न । हेरौँ एउटा संवाद :
‘आमा ?’
‘हई !’
‘दिनभरि एक्लै साह्रै झ्याउ लाग्यो होला है ?’
‘झ्याउ लागेर के गर्नु ? कान्छोको दशैँबिदा हुने बेला भो भन्छ, बिदा भएपछि सँगै घर जाउँला आमा भन्छ । होइन भने आज यति बेलासम्म घरमा हुन्थेँ म ।’ (टुकी, पृ. १६७–१६८)

थारुको कथा लेखेको भए पनि ‘टुकी’ उपन्यासमा थारु भाषाको संवाद निकै कम राखिएको छ । त्यस्तै अपठित थारु महिलाले पनि पहाडियाले जस्तो संवाद बोलेका छन् । गैर थारु अर्थात् पहाडिया मूलका व्यक्तिको संवाद भने उपयुक्त देखिन्छ । यसमा चितवन र काठमाडौँको कथा मिसिएर आएको हुँदा यसको भाषामा चितवन र काठमाडौँको सुवास पाइन्छ ।

‘टुकी’ उपन्यासमा चित्रित थारु संस्कृति
‘टुकी’ उपन्यासको उठान काठमाडौँबाट गरिएको भए पनि यसमा उपन्यासको मुख्य पात्र आमै अर्थात् विक्रमिया चौधरीले चितवनका थारुहरुले मनाउने चाडपर्व, नाचगान र संस्कृतिका बारेमा व्याख्या गरेकी छिन् । हेरौँ एउटा नमुना :
असोज महिना, खेतीपातीको काम सकिएपछि जितियापर्व आयो । नारीहरुको महान् पर्व भएर होला दुई साता अगाडिदेखि नै झम्टा नाच नाच्थे गाउँका महिलाहरु । वरपरका घर–घरमा झम्टा नाच नाच्दै हिँड्ने, पैसा, चामल, जे दिन्छन् लिएर जम्मा गर्ने गर्थे । जितिया पर्वको दिन दर खाइवरी रातभरि झम्टा नाच्दै बदहा गीत गाउने परम्परा छ । नाच्दै, गाउँदै, तालमा ताल मिलाउन मलाई पनि रहर थियो । त्यसैले आमाको पछि लागेर म पनि नाचमा मिसिएँ । (टुकी, पृ. १६–१७)

माथिको साक्ष्यमा जितिया पर्व मनाउन नसक्नेले कसरी मनाउँछन् भन्ने बारेमा बयान गरिएको छ । त्यस्तै थारुको नयाँ वर्ष कस्तो हुन्छ भन्ने बारेमा तलको साक्ष्य हेरौँ :
थारु समुदायको नयाँवर्ष खिचरा माघेसंक्रान्ति चिचर र माछाको परिकारबाट बनाएर स्वागत गरिन्छ । बिहान सबेरै नुहाइधुवाइ गरेर चोखो भई पुसमा पकाएको चिचर र माछा माघमा खाने चलन छ । माछा मात्रै नभई हाँस, कुखुरा, खसी, बोका, भेँडाका मासुबाट बनेका परिकारहरु खाएर मनाउने चलन छ । खिचरा हामी थारुहरुले मान्ने नयाँवर्षको भनेर गुरौले सुनाउने गरेका छन् । (टुकी, पृ. ८८)
माथिको वर्णनमा थारुको नयाँवर्ष माघी अर्थात् माघे संक्रान्ति किन र कसरी मनाइन्छ ? त्यसको सांस्कृतिक महत्व के छ ? भन्ने बारेमा चिनाउन खोजिएको छ ।
थारुको मुख्य चाड दशैँ र तिहार हो । तिहार कसरी मनाइन्छ भन्ने बारेमा यस उपन्यासमा यसरी वर्णन गरिएको छ :

सोहराइको मछवारी, दीपावलीको अघिल्लो दिन भएर होला चरनमा छुट्टै उमङ्ग थियो । गाउँघरका ढोकाढोका, दैलोदैलोमा विभिन्न खालका चिन्हहरु सजिएका थिए, रङ्गीविरङ्गी रङ्गहरुबाट चौपायाहरु सजिएका थिए । भेँडाहरुका शरीरमा फरकफरक रङ्गका पाँचैवटा औँलाहरु प्रष्ट हुनेगरी हत्केलाका छापहरु बनाएका थिए । गाईगोरुका शरीरमा पनि त्यस्तैखालका रङ्गहरुबाट टीकाटीकी बनाइएका हुन्थे । दीपावलीको झिलीमिलीझैँ चौपायाहरु पनि झिलीमिली थिए । चौपायालाई पनि तिहार लागेको हो । (टुकी, पृ. ७७)

पहिला पहिला थारुहरुको जीवनशैली कस्तो हुन्थ्यो ? भन्ने बारेमा तलको वर्णनले प्रष्ट पार्न खोजेको छ :
जाडो मौसममा भुङ्ग्राहरु थारुका घरआँगनमा हुन्थ्यो । आगोका भुङ्ग्रोमा खानेकुराहरु पोल्न केटाकेटीदेखि बुढाबुढीसम्मका राप लिँदै बिहानभर मस्त हुन्थे । (टुकी, पृ. ११५)

‘टुकी’ उपन्यासका उपन्यासकरले यसमा थारुको कथा लेखेको भएका कारण यसभित्र चितवनको शुक्रनगर आसपासका थारुले मनाउने चाडपर्व, त्यसको शैली, विवाह पद्धति, जीवनशैली आदिका बारेमा सुन्दर चित्रण गरेका छन् । यसमा गैरथारु अर्थात् पहाडिया मूलका व्यक्तिको संस्कृति पनि उपयुक्त तरिकाले चित्रण गरिएको छ । यसमा चितवनका थारु र गैर थारु तथा काठमाडौँको विभिन्न समुदायको कथा मिसिएर आएको हुँदा यसमा चितवन र काठमाडौँको संस्कृतिको मिठास पाइन्छ ।

चितवनको उपन्यासयात्रामा ‘टुकी’ उपन्यासको स्थानर्धिारण
‘टुकी’ उपन्यासले हालसम्म नेपाली आख्यानले छायामा पार्दै आएको बिल्कुल नयाँ खालको कथा पस्कने काम गरेको छ । त्यसो त २०६२–६३ सालको आन्दोलनले दिएको मुख्य उपलब्धि भनेको जातिगत पहिचान हो । नेपाली साहित्यमा पनि पाश्चात्य साहित्यमा विकसित भएको उत्तरआधुनिक चेतनाले पनि सबाल्टर्नका कुरालाई अघि सारेको पाइन्छ । यी दुबै राजनीतिक तथा साहित्यिक मान्यतालाई ‘टुकी’ उपन्यासले सहज रुपमा उठाएको छ । थारु भनेका थारु नै हुन् चाहे ती चितवनमा बसून् कि बाँके, बर्दिया, कैलाली वा कञ्चनपुरमा बसून् । त्यसो त थारुहरु पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म बसोबास गर्दै आएका भूमिपुत्र हुन् । यिनीहरुसँग खेती, किसानीका कुरा मात्र नभएर जीवन सङ्घर्षका अनेकौँ कथाव्यथाहरु छन् । तिनलाई टिप्न मात्र सक्नुपर्छ । त्यस्ता कथालाई केही मात्रामा भए पनि टिपेर प्रस्तुत गरेकाले ‘टुकी’ उपन्यास नेपाली साहित्यका पृथक् खालका प्राप्ति भएका हुन् ।

बैठान
र अन्त्यमा, आजका मितिमा चार वर्षको बाल्यकालीन उमेर पूरा गरिसकेको ‘टुकी’ उपन्यास थारु संस्कृतिको उपज भएको कुरा पुनः अवगत गराउँछु । त्यसो उपन्यासकार मनोज ‘अज्ञात’को दोस्रो उपन्यास ‘टुवरा’ले पनि थारुका कथाव्यथालाई नै अगाडि बढाउने काम गरेको छ, जसमा थारुका मौलिक संवाद यथेष्ट रुपमा आउनुका साथै थारु लवजको भरमार प्रयोग भएको छ । त्यसो त लेखक आफू थारु हुनुुले कथामा मौलिक स्वाद आउँछ भन्ने कुरा थारु समुदायका मनोज चौधरी ‘अज्ञात’को औपन्यासिक कृतिले प्रमाणित गराइदिएको छ । यो कृतिको युगान्तसम्म सफलताको लागि मुरी मुरी शुभकामना दिन चाहन्छु । उनका कृतिले उनलाई धेरै माथिसम्म पुर्‍याओस् भन्ने शुभेच्छा छ मेरो । आगामी कृति पनि यही परिवेश र विषयवस्तुमा आधारित भएर जन्मिायोस् भन्ने शुभेच्छा छ मेरो । अब मनोज थारु ‘अज्ञात’ होइन, ज्ञात भइसकेका छन् । उनी थारुका कथा भन्ने आख्यानकार बनून् । उनलाई सफलताको शुभकामना छ मेरो । अरु कुरा पछि गर्दै गरौँला, अहिलेलाई यत्ति । (समीक्षक प्रभात अक्षर समूह चितवनका अध्यक्ष हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट