भरतपुर, १४ कात्तिक ।
चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले प्रतिगमनकारीहरु नै अग्रगामी भन्दै हिँडेको आरोप लगाएका छन् । भरतपुर–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उनले देश विदेशीलाई सुम्पिन तयार हुने नेताहरु आफूलाई अग्रगामी भन्दै हिँडेको टिप्पणी गरेका छन् । उनले पहिचान र परिवर्तनको राजनीति भन्दै भाषण गर्नेहरुकै कारण देश संकटमा पुगेको दाबी गरे । उनले देशलाई षड्यन्त्रकारीहरुको कब्जाबाट मुक्त गर्नुपर्ने खाँचो रहेको बताए । `सिद्धान्तको प्रशिक्षण दिनेहरुले अहिले फलानो पार्टीलाई भोट दिनु भनेर निर्देशन दिन थालेका छन्, जनतालाई पार्टीको सिपाही बनाएका छन्´, पूर्वमन्त्री पाण्डेले भने- `न्यायप्रेमी जनताहरु अब जाग्नुपर्छ, पार्टी होइन, देश बचाउने र विकास ल्याउने नेताहरुलाई जिताउन लाग्नुपर्छ ।´
उनले जनताले तिरेको कर देश विकासमा भन्दा बढी सांसदहरु मन्त्रीहरु पाल्न लगानी भएको जीकिर गरे । `गाउँ, वस्तीमा विकास ल्याउन बजेटले पुग्दैन, आयोजनाहरु ल्याउनुपर्ने अवस्था छ´, उनले भने – `दातृनिकायबाट ठूला आयोजना माग गर्नुपर्ने अवस्था छ, संकलित कर जति सबै सांसद, मन्त्रीलाई सेवा सुविधाका लागि खर्च भैरहेको छ ।´
उनले संघीय र प्रदेश सरकार बनाउन चुनाव पहिल्यै गठबन्धन गरेर झुटा आश्वासन बाँड्दै जनता झुक्याउने काम भैरहेको तर्क गरे । “किसानका खेत खेतमा प्राविधिक पठाउने, उत्पादन बढाउनेतर्फ ध्यान दिनै सकेनन्”, उनले भने- `पश्चिम चितवनलाई कृषि हब बनाएर सोही अनुसार किसानलाई प्रोत्साहन गर्न सके देशलाई पुग्ने उब्जनी फलाउन सकिन्थ्यो ।´ उनले विश्वले विकास हेर्न आउने क्षेत्रका रुपमा चितवन–३ लाई विकास गर्न सकिने सम्भावना रहेपनि सहि पात्र सांसद नबन्दा अवसर गुमिरहेको बताए ।
`देश, विदेशमा विकास निर्माणको काम गरेको अनुभव मसँग छ, विकासको प्लान ल्याएको छु´, राप्रपा उपाध्यक्ष पाण्डेले भने- `यसपल्ट सांसदमा निर्वाचित भएमा जनताले सधैँ सम्झिने काम गरेर देखाउनेछु ।´ उनले जनताहरुले अन्याय, वेथीतिविरुद्ध मंसिर ४ गते मतदान गर्ने विश्वास लिएको बताए । उनले राष्ट्रहित विपरित सम्झौता गर्न खोज्नेहरुलाई खबरदारी गर्न देशभरबाट राष्ट्रवादीहरुले चुनाव जित्नुपर्ने आवश्यकता रहेको बताए ।





