भरतपुर, १४ कात्तिक ।
सम्पूर्ण शक्तिको स्रोत मानिएको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वलाई समापन गरिँदै छ ।
पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ ।
यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीनपटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए ।
पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ ।
आज बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी वर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने-खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी-चेली (छोरी, दिदीबहिनी, फूपू), मित-मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिली परम्परा छ । मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।





