मुम्बई, १४ कात्तिक ।
गजलकार कमल सङ्घर्षको गजल वाचन कार्यक्रम भारतको मुम्बईमा सम्पन्न भएको छ । आइतबार मुम्बईको सायनमा
गजलसङ्ग्रह `खुडी´ र `सडक´लाई स्वागत तथा मुम्बई मेहफिलको आयोजना गरिएको थियो । मनका लहर साहित्य मञ्चको आयोजना र सृष्टि मनि ट्रान्सफरको प्रायोजनमा मुम्बईमा गजल गुन्जिएको हो ।
कार्यक्रममा मुम्बई आसपासका साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष वाचक तथा प्रमुख अतिथि गजलकार कमल सङ्घर्षले करिव २ दर्जन नेपाली तथा अछामी भाषाका गजलहरू सुनाउँदै स्रोताको वाहवाही बटुलेका थिए । साथमा अथक भुपेन्द्र, किशोर विवश क्षेत्री, सन्तोष उदासी, चन्द्रमणि खनाल, सरोवर बडौला, चन्द्र धामी, रुपक विष्ट, दिपक सर्वहारा, कलम क्षेत्री, नेत्र अधिकारीलगायत १ दर्जन बढी स्रष्टाले समेत गजल वाचन गरेका थिए । कार्यक्रममा सडक र खुडीलाई मुम्बई विमोचन समेत गरिएको छ ।
मुम्बई मेहफिलसँगै सडक र खुडीलाई स्वागत तथा सङ्घर्षको गजल वाचन यसअघि भारतको सुरत, भरूचा, हैदरावाद र पुणेमा पनि सम्पन्न भइसकेको छ । प्रवासमा रहेका साहित्यिक श्रष्टाहरूले उक्त कार्यक्रमको संयोजन गरेका हुन् । यस्ता कार्यक्रमहरूले प्रवासमा नेपाली गजललाई वृहत् बनाउन टेवा पुग्ने गजलकार सङ्घर्षले बताए । मनका लहर साहित्य मञ्चका अध्यक्ष सागर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विवश सङ्घर्षले गरेका थिए ।
पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय रहेका सङ्घर्ष नौखुवा छमास्या पत्रिकाका प्रमुख सम्पादक समेत हुन् । उनका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो ।





