अस्ताउँदो सूर्यलाई अर्घ्य

भरतपुर, १३ कात्तिक ।
छठ पर्व मनाउने गरेका चितवनबासी तराई समुदायले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्वको मुख्य दिन आइतबार साँझ नारायणी नदी, खगेरी खोला, राप्ती नदी तथा नजिकैका नहर र खोला किनार पुगेका भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । सूर्य अस्ताउनुपूर्व नदी, नहर र खोला किनारमा बनाइएका घाटमा पुगेका उनीहरूले पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य चढाएपछि श्रद्धालुहरू घाटमै जाग्राम पनि बस्ने गर्दछन् । निराहार व्रत बसेका यी व्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नारायणगढको नारायणी नदी किनारमा भक्तजनको बाक्लो उपस्थिति थियो । तराई सामुदायिक सेवा समितिले छठ पूजा व्यवस्थापन गरेको हो । चितवनमा पहिला छिटफुटरुपमा पूजा हुने गरेकोमा २० वर्षयता उपस्थिति बाक्लिन थालेको समितिका सचिव नारदप्रसाद परिहस्त बताउँछन् । यसपटक नारायणी किनारमा टेण्ट सहितको आकर्षक ठूलो घाट बनाइएको छ । आइतबार साँझ करिब १० हजार जना छठ मनाउन र रौनक हेर्न नारायणी किनारमा आएको समितिका सचिव परिहस्तले अनुमान गरे ।

छठ मिथिला क्षेत्रमा विशेष रुपले मनाइने गरिन्छ । तर पछिल्ला वर्षहरुमा छठको ख्याति देशभर फैलिएको छ । चितवनमा मिथिला क्षेत्रका मात्रैले नभएर स्थानीयले पनि छठको पूजा सुरु गरेका छन् ।चितवनमा नारायणी किनारमा मात्रै नभएर पदमपुरको खगेरी खोलामा, माडी, खैरहनीजस्ता ठाउँका जलाशयहरुमा पनि छठ मनाउनेहरुको भिडभाड हुने गरेको छ ।

हिन्दू धर्मावलम्बीहरूका लागि सूर्यको आराधनासँग जोडिएको मुख्य पर्व छठ हो । छठ पर्वको मुख्य रौनक अस्ताउँदो सूर्यलाई अर्घ्य दिनु हो । अर्घ्य दिएर सूर्यको स्तुतिले चिताएको मनोकामना पूरा हुने विश्वास गरिन्छ । सोही विश्वासकै आधारमा श्रद्धालु भक्तजनहरूले छठ पर्व मनाउँदै आएका छन् । ओखलमा कुटिएको गहुँको पिठोबाट पकाइएको ठेकुवासहितका परिकार सूर्यलाई अर्घ्यसँगै चढाउने गरिन्छ । सकेसम्म पानीमा घुँडासम्म डुबेर सूर्यलाई अर्घ्य दिँदै आराधना गर्ने गरिन्छ ।

शनिबार पञ्चमी तिथिमा भक्तालुहरूले ‘खरना’ व्रत लिएका थिए । खरना समापनपछि व्रतालुहरूले नुहाईधुवाईपछि चोखो भएर घरको नयाँ चुल्होमा पकाइएको खीरलाई प्रसादका रूपमा प्रयोग गरेका हुन्छन् । कात्तिक चतुर्थीदेखि सुरु हुने छठ सप्‍तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुन्छ । सोमबार विहानै भक्तालुहरूले त्यसरी अर्घ्य दिएर ब्रतसँगै छठ पर्वको समापन गर्दछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट