काठमाडौँ, ७ कात्तिक ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुईवटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् ।
संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेका बीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए ।
वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, `दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ ।´ संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मङ्सिर ४ गते सङ्ग्राम हुने धारणा राखे ।
उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए ।
उनले भने, “विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो । त्यसका विरुद्ध हामी सबै उभियौँ । सङ्घर्षका बीचमा गठबन्धन बनेको हो । सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन । त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो ।”
शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उनको भनाइ थियो । नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए ।




