काठमाडौँ, १८ भदौ ।
राष्ट्रिय खेलकुद परिषद्ले चितवनको भरतपुर महानगरपालिकालाई सात सय ५३ मध्ये उत्कृष्ट स्थानीय तह घोषणा गरेको छ । नेपालका स्थानीय तहमध्ये खेलकुदका क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेकाले भरतपुरलाई उत्कृष्ट महानगर घोषित गरिएको राखेपले जनाएको छ ।
गएको वर्ष उक्त महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि रु नौ करोड ४७ लाख रकम विनियोजन गरेको जनाइएको छ । काठमाडौँमा आज भएको राखेपको वार्षिकोत्सव समारोहमा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उक्त सम्मान ग्रहण गरेका थिए।
सम्मान समारोहमा भिडियो सन्देशमार्फत महानगरप्रमुख रेनु दाहालले भरतपुरले खेल पर्यटन सिटीका रुपमा विकास गर्ने सोच आफ्नो रहेको बताइन् । उनले एक वडा एक खेलग्राम, एक विद्यालय एक खेलमैदान, नगरस्तरी खेल मैदान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल मैदानलगायत परियोजना अघि बढाएको जानकारी दिइन् । उक्त पुरस्कार प्रधानमन्त्री देउवा तथा खेलकुदमन्त्री गहतराजसहित उपस्थित अतिथिबाट वितरण भएको थियो । रासस





