चितवन,१८ भदौ।
पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ । विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी “टोपोग्राफी सर्भे” सुरु गरिएको छ ।
शनिबार मेघौली पुगेर पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरे । अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान सञ्चालनमा आउने बताए ।
सर्भे रिपोर्ट आएपछि नागरिक उड्ययन प्राधिकरणले छिट्टै टेण्डरको प्रक्रिया अघि बढाईने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। “स्तरोन्नतीको प्रक्रिया सुरु भइसकेको छ । फिल्ड सर्भे रिपोर्ट आएपछि सबै प्रक्रिया पुरा गरेर टेण्डर निकाल्छौं, यो विमानस्थल अब पुनः चल्छ” –महानिर्देशक अधिकारीले भने । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यस विमानस्थल स्तरोन्नती गर्नका लागि महानगर लागि परेको जानकारी दिइन् । उनले यस विमानस्थल संचालनमा आएलगत्तै यस क्षेत्रको विकास हुने भन्दै यो प्रक्रियालाई छिट्टै अघि बढाउन आग्रह गरिन् ।
परम्परागत ढंगबाट गरिने सर्भे भन्दा “टोपोग्राफी सर्भे” १० दिन छिटो रिर्पोट आउछ । यो सबै डिजिपीएस प्रविधि र ड्रोनबाट नक्साङकन गरेपछि काम गर्न सहज हुने र फिल्ड गईरहनुपर्ने समस्या नहुने सर्भेकर्ताहरु बताउँछन् । यही सर्भेको आधारमा फिल्डको सतह, ड्रेन निर्माण लगायत प्राविधिक विषयलाई सहज ढङगबाट मापन गर्न सकिने भएकाले बहुउपयोगी मानिएको छ ।
अहिले धावनमार्ग घाँसेमैदान रहेको छ । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसपश्चात एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराइएको थियो ।
भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ । हाल यस विमानस्थलको लम्बाइ एक हजार मिटर छ । यस विमानस्थल भने कुल २३ बिघा क्षेत्रमा फैलिएको छ ।





