भरतपुर, १८ भदौ ।
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १५ गते भरतपुरमा भव्य सांगीतिक साँझ आयोजना गर्ने भएको छ । सांगीतिक साँझमा चर्चित वरिष्ठ सदावहार गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ ले जानकारी दिए ।
नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित वरिष्ठ सदावहार गायक कार्की तथा गायिका वन्दनालाई सम्मान गर्न लागिएको हो । सांगीतिक क्षेत्रलाई प्रवर्द्धन गर्ने र नेपालीहरुको महान पर्वको अवसर पारेर यो विशेष कार्यक्रम आयोजना गर्न लागिएको महाप्रबन्धक कार्कीले बताए । कार्कीका अनुसार साँगीतिक सांझमा चर्चित कलाकार तथा गायक, गायिकाको उपस्थिति रहने छ ।
गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तर्राष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उहाँले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।
त्यस्तै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका देविका वन्दना नेपाली गीत सँगै नेवारी, हिन्दी, मराठी लगायतका विभिन्न भाषाका हजारौं गीतलाई सुमधुर स्वर दिएकी छिन् ।
स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवर्द्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतिक कार्यक्रम र अवार्डलगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।





