भरतपुर,१६ भदौ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबी गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत महासंघको केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको छ । फोनिजको केन्द्रीय समितिको निर्णयानुसार हरेक जिल्ला शाखाहरूबाट एक साथ ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार चितवन जिल्लालाई पनि ज्ञापनपत्र बुझाएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए ।
पत्रकार महासंघले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई महासंघको संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, महासंघले वास्तविकता नबुझी भट्टराईलाई संस्थापक अध्यक्ष मान्ने निर्णय गरेर आदिवासी जनजातिसँग जोडिएको इतिहास मेट्ने प्रयास गरेको भन्दै फोनिजले त्यसको विरोध गर्दै आएको छ । फोनिजले विभिन्न तथ्य–तथ्यांकले पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै भएको दाबी गर्दै आएको छ ।
वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बने पनि त्यसअघि नेपालका पत्रकारहरूलाई पहिलो पटक संगठित गर्ने व्यक्ति नै सत्यनारायणबहादुर रहेको फोनिजको दाबी छ । ‘वि.सं.२००८ साल वैशाख ९ गतेको भेलाले श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको इतिहास छ,’ फोनिज चितवनका अध्यक्ष मगरले भने, ‘२००९ साल वैशाख २८ गते पुनः श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ गठन भएको पाइन्छ । त्यसैले पनि सत्यनारायणबहादुर श्रेष्ठ नै नेपालको पत्रकार महासंघमा संस्थापक अध्यक्ष हुनुहुन्छ ।’
पत्रकार महासंघले संस्थाको संस्थापक अध्यक्ष (त्यतिबेलाका सभापति) श्रेष्ठ नै हो भनेर सच्याउने मागसहित देशभरका सबै जिल्ला शाखाहरूले एकसाथ ज्ञापनपत्र बुझाएको उनले बताए । ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले पनि चितवन शाखाको ध्यानाकर्षण भएको भन्दै केन्द्रीय समितिलाई जानकारीका साथ पठाउने वचन व्यक्त गरे ।





