भरतपुर, १६ भदौ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वार्षिकरूपमा दिँदै आएको पुरस्कारहरू सार्वजनिक गरेको छ । जसअन्तर्गत केशवराज ज्ञवालीको कथासङ्ग्रह `अर्को भोर´ले पद्मश्री साहित्य पुरस्कार पाउने भएको छ ।
त्यसैगरी वरिष्ठ कथाकार माया ठकुरीलाई पद्मश्री साधना सम्मान र चिकित्सक सन्दुक रुइतलाई पद्मश्री गौरव पुरस्कार दिइने भएको छ । प्रतिष्ठानले बिहीबार बिज्ञप्ति जारी गर्दै पुरस्कार घोषणा गरेको हो ।
वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।
यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्ने गरेको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा निर्णायक समितिको निर्णय गरेबमोजिम वि.सं. २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहलाई अर्पण गर्ने निर्णय गरेको छ । `अर्को भोर कथासङ्ग्रहका कथाहरूको शैलीमा नवीनता छ । फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाएका छन् । कथाहरूको भाषा सरल छ । आरोह, अवरोह र नाटकीयताको सम्यक सन्तुलन कायम राख्न अधिकांश कथा सफल छन् ।´ बिज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठानलाई प्राप्त १४४ ओटा पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा र दोस्रो चरणमा पाँच ओटाको संक्षिप्त सूची यसअघि प्रकाशन गरिएको छ । समितिले बुझाएका पाँच ओटा कृतिमा नवराज लम्सालको `अग्नि´, केवशराज ज्ञवालीको `अर्को भोर´, उषा हमालको `भिक्षुसँग प्रेम´, दीपक पराजुलीको `मिथ्या´ र केबल बिनाबीको `यादहरुको संङ्ग्राहलय´ थिए ।
यस वर्ष पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्यहरु नयनराज पाण्डे र कुमारी लामा थिए ।
यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएकी कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरेको छ । उनका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत छन् । उनका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथासङ्ग्रह प्रकाशित छन् ।
यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरेको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुन् । `सन्दूक रुइत´ नामक उनको जीवनी अलि ग्रिपरले अङ्ग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन् ।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ ।
तीन ओटै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले बताए ।





