`तीज गीतका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ´

गैंडाकोट, १२ भदौ ।
रेडियो संकेत ९३ मेगाहर्जले आयोजना गरेको ‘बृहद तीज गीत प्रतियोगिता २०७९’ मा गैंडाकोट नम्बर १ को शुभटोल महिला समूह प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर १ मा कार्यालय रहेको मौलाकाली सामुदायिक वन उपभोक्ता समूह दोस्रो भएको छ भने तेस्रो हुनेमा वडा नम्बर २ को कालिगण्डकी महिला समूह रहेको छ ।

यसै गरि प्रतियोगितामा प्रोत्साहन पुरस्कार प्राप्त गर्ने दुई टीममा वडा नम्बर ४ को अग्रसर महिला समूह र वडा नं २ को मनकामना आमा समूह रहेको छ । २२ टीमले सहभागिता जनाएको नगर स्तरिय खुला तीज गीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं प्रख्यात लोकगायक अमर बिरही गुरुङको संयोजक रहेका थिए । प्रतियोगितामा लीला अधिकारी ढुंगाना र विष्णु पन्थी सहितको निर्णायक मण्डल रहेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रू २० हजार, रू १५ हजार र रु ७ हजार नगद र प्रमाण प्रदान गरिएको थियो । प्रोत्साहन पुरस्कारमा रू ३ हजार सहित प्रमाणपत्रको व्यवस्था थियो ।

विजयी टिमहरुलाई नगरको होटल द नारायणीमा आयोजित एक समारोहमा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले पुरस्कार एवं प्रमाणपत्र हस्तान्तरण गरिन् । समारोहमा उपमेयर शान्ति कोइरालाले तीजको महत्वका बारेमा भगवान शिव र पार्वतीको कथाको प्रसंगलाई जोड्दै यसको आध्यात्मिक गरिमा आज पनि उत्तिकै प्रासंगिक भएको बताइन् । तीज मान्ने शैलीमा हिजो भन्दा आज फरक हुँदै आएकोमा भने उनले चिन्ता व्यक्त गरिन् । आमाहरुले मनाउँदै आएको तीजको परम्परालाई नै अनुशरण गर्नुपर्ने उनको सुझाव थियो । पछिल्ला समयहरुमा तीज भड्किलो बन्दै गएको बताउँदै उपमेयर कोईरालाले महलमा बस्ने र झोपडीमा बस्ने सवैले समान रुपमा तीज मनाउनु पर्ने धारणा व्यक्त गरिन् । ‘सासुले बुहारीलाई छोरीकै जस्तो व्यवहार गरौं – र बुहारीले पनि सासुलाई आमाकै जस्तो व्यवहार गरौं, अनि तीज गीतका माध्यमवाट पनि समाजमा सकारात्मक परिवर्तनहरु गर्दै जाउँ’ उपमेयर कोईरालाको भनाई थियो ।

समारोहमा रेडियो संकेतका पूर्व अध्यक्ष एवं समाजसेवी षडानन्द लामिछानेले तडकभडक नगरी मौलिक रूपमा तीज मनाउन आग्रह गरे ।

वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटाले अमुल्य समय खर्चेर प्रतियोगितामा भाग लिन आउनुभएका आमा,दिदीबहिनीहरुले यस्ता प्रतियोगितामा अमुल्य प्रस्तुतिहरु प्रस्तुत गर्ने र कार्यक्रमको समापन पछि पनि फेरि घरायसी काममा तुरुन्तै जुट्न सक्नु उहाँहरूको क्षमता वास्तवमै प्रसंशनिय भएको बताए ।

समारोहमा प्रसिद्ध लोकदोहोरी गायक अमर विरही गुरुङले तीज गीत प्रतियोगितामार्फत रेडियो संकेतले नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने प्रयास गरेकोमा धन्यवाद दिए । समाजमा भोगेका राम्रा-नराम्रा भोगाईहरुलाई महिलाहरुले तीजका दिनहरुमा गीत संगीतका माध्यमले व्यक्त गर्ने प्रचल आफैमा मौलिक भएको गायक गुरुङको तर्क थियो । समारोहमा मौलाकालिका सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष नवराज घिमिरे र साहित्यकार रामहरि शर्मा सराहले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रेडियो संकेत ९३ मेगाहर्जले २०७४ सालदेखि प्रत्येक वर्ष तीज पर्वका अवसरमा तीज गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ । अघिल्ला दुई वर्षहरुमा कोभिड १९ का कारण स्थगन रहेको तीज गीत प्रतियोगितालाई आउँदा वर्षहरुमा निरन्तरता दिइने रेडियो संकेतका स्टेशन मेनेजर सुजन अधिकारीले जानकारी दिए । रेडियो संकेतका अध्यक्ष चिरञ्जिवी श्रेष्ठको अध्यक्षतामा भएको तीज गीत प्रतियोगिताको संचालन संचारकर्मी ओमकार अर्यालले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट