प्राचीन चितवन : दाउन्नेदेखि हर्नामाडीसम्म फैलिएको जलद्रोणी

भरतपुर, ११ भदौ ।
हालको चितवन जिल्ला कुनै बेला आदिमानव र आदिवासीको थलो भएको अन्वेषक डिआर पोखरेलले बताएका छन् । आजभन्दा २ लाख वर्ष अगाडि पानीको तलाउ रहेको यो क्षेत्र पानी सुक्दै गएर उपत्यकाको स्वरुपमा आएको पोखरेलले बताए । `भौगोलिक परिवर्तन भएर यहाँबाट पानी बगेर गयो र उपत्यका बन्यो । त्यसपछि हजारौं वर्ष दलदले जमिन, त्यसपछि वनस्पति उम्रेर घनाजंगल, मानव सभ्यता र संस्कृतिको विकास हुन थाल्यो´, पोखरेलले बताए । प्रागऐतिहासिककालको चितवन कस्तो थियो भन्ने बारेको विवरण सँगै पौराणिक ग्रन्थ र किंवदन्तीलाई पनि पोखरेलले बेलिबिस्तार गरे । पोखरेल आफैले लेखेको `संस्कृतिका सोपानमा चितवन´ पुस्तकको लोकार्पण समारोहमा शनिबार उनले चितवनको इतिहासका विविध सन्दर्भहरू सुनाए ।

कुशेऔँशीको अवसर पारेर यो पुस्तक सार्वजनिक गरिएको हो । पोखरेल निवास भरतपुरमा आयोजना गरिएको कार्यक्रममा पाका व्यक्तित्व यमुनाप्रसाद न्यौपाने र विजय सुवेदीले यस पुस्तकलाई विमोचन गरेका हुन् । शनिबार नै लेखक पोखरेलको जन्मदिन पनि हो । आफ्नो जन्मदिनको अवसर पारेर १९ औं कृतिस्वरुप यो पुस्तक ल्याएको पोखरेलले सुनाए ।

लोकार्पणपछि विभिन्न व्यक्तिले पुस्तकमाथि टिप्पणी पनि राखेका थिए । पत्रकार रमेशकुमार पौडेलले पुस्तकमा चितवनको इतिहास सँगसँगै राजनीतिक र सामाजिक चित्रण पनि जोडिएको बताए । `यहाँको संस्कृति, संस्कार र सभ्यतालाई जोडेर चितवनका आदिवासी र विशेषगरी थारू समुदायको चित्रण गरिएको छ´, पत्रकार पौडेलले भने -`चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चितवनको बाहुल्य आदिवासी अन्तर्गत पर्ने चेपाङ समुदायको चित्रण भने अपुरो छ । चितवनको सामाजिक इतिहासका बारेमा केन्द्रित पुस्तकमा यहाँको संस्कृति र सभ्यताको अर्थ र महत्त्वको व्याख्या भने राम्रोसँग गरिएको छ ।´

मानव सभ्यताको इतिहासको अन्वेषण गर्दै चितवनलाई केन्द्रबिन्दुमा राखेर यो पुस्तक लेखिएको केदारनाथ खनालले बताए । `चितवनको इतिहासका बारेमा पाइएका प्रमाणित तथ्य पनि पुस्तकमा छन्´, खनालले भने । डाक्टर कर्णबहादुर बानियाँले अनुसन्धानकर्मी पोखरेलले यस पुस्तकमा चितवनको सभ्यता, संस्कृति र मध्यदेशको बारेमा खोजमुलक सामग्री समेटेको बताए । `चितवन उपत्यका महाभारत र चुरे पर्वत शृङ्खलाको दाउन्नेदेखि हर्नामाडीसम्म फैलिएको जलद्रोणी हो, जसलाई कुनैबेला राप्ती दून भनिन्थ्यो । यस उपत्यकामा विभिन्न समयमा अनेकौं जातिका मानिसहरूले रस्तीबस्ती बसाल्दै आएको हुनाले यो द्रोणी विविध संस्कृतिको संगमस्थल बन्न पुगेको छ´, बानियाँले भने – `लेखक पोखरेलले यस पुस्तकमा कुमाल, चेपाङ, थारू, दनुवार, दराइ, बोटे, माझी, र मुसहरलाई द्रोणीका आदिवासी भनेर तिनीहरूको संस्कृतिको बारेमा प्रकाश पार्नुभएको छ ।´

चितवन बौद्ध अनुसन्धान केन्द्रका संयोजक विजय सुवेदीले यो पुस्तक चितवनको सभ्यताको चिनारी भएको बताए । बौद्ध सभ्यताको देनस्वरुप चितवनमा मानव बसोबासको आरम्भ भएको इतिहासकाल र मध्यकालभरि यहाँ भएको विकास र सभ्यतालाई पुस्तकमा लेखक पोखरेलले प्रष्टसँग लेखेको सुवेदीले बताए । `ऐतिहासिक चितवनका गुमनाम सांस्कृतिक, धार्मिक र पौराणिक रहस्यहरू पनि पुस्तकमा छन्´, सुवेदीले भने ।

कार्यक्रमका सभापति यमुनाप्रसाद न्यौपानेले लेखक पोखरेललाई इतिहास, संस्कृति र पुरातत्त्वको खोजनीतिमा कहिल्यै नथाक्ने साधक भएको बताए ।

पोखरेल चितवनको राजनीतिक क्षेत्रका पुरानो उर्जाशील व्यक्तित्व सँगै समाज अध्ययनमा सक्रियरूपमा लागेका स्रस्टा हुन् । हाम्रो सिर्जना पत्रिकाले प्रकाशन गरेको पुस्तकको मूल्य २०० रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट